Nepal Purbadhar

सोमवार, माघ १६, २०७९
Monday, January 30, 2023

सोमवार, माघ १६, २०७९
Monday, January 30, 2023

सडक पुल निर्माण सम्पन्न हुनुअघि नै चर्किने समस्या बढ्दै, समाधान के ?


कर्णाली प्रदेशको कालिकोट जु्म्ला जोड्ने सिञ्जा खोला पुल प्राविधिक रुपमा त्रुटिपूर्ण देखिएको छ । सडक विभागका अनुसार त्यो पुल प्रयोग गर्न जोखिमयुक्त छ ।

किनकि पुल निर्माण सम्पन्न भएर निर्माण कम्पनी सूर्य कन्स्ट्रक्शन फर्मले सडक विभागलाई बुझाउनु अघि नै चर्किएको छ । पुल प्राविधिक रुपमा स्वीकार गर्न नसकिने र स्वीकार नगर्ने सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको भनाइ छ ।

गत बुधबार (११ साउन) संघीय संसदका विकास तथा प्रविधि समितिमा भएको छलफलमा विभागका महानिर्देशक थापाले के कारणले पुल चर्किएको हो भनेर अध्ययन गर्न टोली पठाउने तयारी समेत गरेको जानकारी गराए । पुलमा जति क्षमताको कंक्रिट हुनुपर्ने हो त्यो नभएपछि चर्किएको हुनसक्ने वा पुलमा केवल तारले कस्नुअघि नै संरचना हल्लिएर समस्या आएको हुनसक्ने अनुमान गरिएको छ ।

सिञ्जा खोला पुल निर्माण विश्व बैंकको ऋण सहयोगमा गर्ने गरी काम अघि बढेको थियो । तर, विश्व बैंकले ऋण दिने समयावधी सम्पन्न भइसक्दा समेत काम नभएपछि नेपाल सरकारको स्रोतबाट काम सम्पन्न गर्ने गरी काम अघि बढाएको थियो ।

कुल ४० मिटर लम्बाईको यो पुलको डिजाइन सडक विभागले नै गरेको हो भने त्यस डिजाइनमा आधारित भएर सूर्य कन्स्ट्रशनले फर्मले निर्माण गरेको हो । निर्माण कम्पनीले चर्किएको समस्या समाधान हुनेगरी पुन निर्माण गर्न सहमति गरिसकेको सडक विभागको भनाइ छ ।

सडक विभागका प्राविधिकहरुको अवलोकनले अहिले बनेको पुलको संरचना पूर्ण रुपले भत्काएर नयाँ निर्माण गर्नुको विकल्प छैन । नयाँ निर्माणको लागि थप लागत विभागले उपलब्ध गराउनेछैन, यसअघिकै ठेक्का रकमबाट निर्माण गर्नुपर्नेछ ।

यस्तो समस्या देशका अन्य पुलमा पनि बढेको छ । सडक विभागका महानिर्देशक थापाका अन्ुसार प्रत्येक वर्ष करिब २ दर्जन पुलमा चर्किने समस्या आउने गरेको छ । त्यसरी आएका समस्यालाई अत्याधुनिक प्रविधिको प्रयोग गरेर न्यूनिकरण गर्न सकिन्छ । तर, निर्माणाधीन पुल नै किन चर्किरहेका छन त ?
पुल चर्किनुको प्राविधिक कारण

सडक विभागले करिब एक दशक अघिसम्म पनि अधिकांश २५ मिटरभन्दा लामा पुल निर्माण गर्दैनथ्यो । यो लम्बाइसम्मको पुललाई सामान्यतया सिमेण्टको कंक्रिट र छडको प्रयोग गर्दा हुन्थ्यो । तर, पछिल्ला समय २५ मिटरभन्दा लामो पुल निर्माण गर्न थालेको छ । यस्ता पुल निर्माण गर्दा संरचनामा कंक्रिटको साथै झोलुङ्गे पुलमा प्रयोग हुने लठ्ठाजस्तै तार (जसलाई केवल पनि भनिन्छ) कंक्रिटमा छिराउने र कस्ने काम गरिन्छ ।

त्यसरी छिराउने प्वाल कंक्रिट गर्दा नै छेडिएको हुन्छ । त्यही प्वालबाट केवल छिराएर दुवैतर्फबाट तानेर कस्ने र ‘एन्करेज’ ले ब्लक गर्ने गरिन्छ । यो काम कंक्रिट गरेको २८ दिन पुगेपछि मात्र गर्नुपर्छ । किनकि त्यो अवधीसम्ममा कंक्रिट जमिसकेको (बलियो) भइसक्छ ।

तर, कहिलेकाँही मौसम प्रतिकुल हुँदा, पानी परिरहँदा कंक्रिट बलियो भइसकेको हुदैन । यस्तो अवस्थामा पुलको दुवैतर्फ कंक्रिटमा केवल छिराएर तान्दा समस्या आउँछ । योभन्दा पनि जोखिम त केवल तार छिराएर कस्नुअघि नै संरचनालाई अड्याउन आधारमा रहेको टेको हल्लियो वा केही कारणले संरचना हलचन हुने वित्तिकै पुल चर्किन थाल्छ ।

यसकारण कंक्रिट ढलान गरेपछि केवल तार छिराएर कस्नुअघिसम्मको अवधी जोखिमयुक्त हुन्छ । त्यस अवघिमा निर्माण गरिएको संरचना हल्लियो भने पुल चर्कन्छ ।

जोखिम घटाउने उपाय के ?

अहिले पुल निर्माण गर्ने स्थानमा भन्दा बाहिर नै पुलको विम (संरचना) तयार गरी क्रेनले पुल चाहिएको ठाउँमा लैजाने प्रविधि आइएसकेको छ । तर, त्यो प्रविधि नेपालमा अझै उपलब्ध छैन । अहिले पुलको विमलाई बोकेर लैजाने क्रेन नेपालमा छैन । अत्यावश्यक पर्यो भने भारतबाट ल्याउनुपर्ने अवस्था छ ।

पुल निर्माण गर्दा सजिलो ठाउँमा पुलको विम (संरचना) २८ दिन लगाएर तयार गर्ने र त्यसलाई पुल चाहिएको ठाउँमा लगेर टाँस गर्ने हो भने जोखिम न्युन हुने विज्ञहरुको भनाइ छ । त्यस्तो प्रविधि नेपालसँग भयो भने वर्खाको समयमा पनि काम गर्न सकिने सडक विभागका महानिर्देशक थापाको भनाइ छ । त्यति मात्र होइन, २४ सै घण्टा काम गर्न सकिनेछ । यसकारण अत्याधुनिक प्रविधि प्रयोगलाई प्रवद्र्धन गर्दा यो समस्या कम हुदै जाने र लागत र समयको पनि बचत गर्न सकिनेछ ।

साथै हरेक वर्ष जसरी निर्माण सम्पन्न हुने वित्तिकै वा निर्माणको अन्तिम चरणमा पुग्दा पुल चर्किने गरेका छन्, त्यो समस्या र जोखिमबाट जोगिन सकिने थियो । यति मात्र होइन, पुल चर्किएको कारण जसरी देशले लागत र समय खर्च गरिरहनु परेको छ । त्यसबाट छुटकारा पाउन सकिन्थ्यो । यसले निर्माण व्यवसायी र सरकारलाई पनि सहयोग पुग्ने थियो ।

सबैभन्दा महत्वपूर्ण विषय त उपभोक्ता जसको लागि भनेको पुल निर्माण गरिएको हो । उनीहरुले समयमै सुविधा उपभोग गर्न पाउने थिए ।


Read Previous

सेती नदीको ७० प्रतिशत निर्माण सकियो,९ महिनामा विद्युत उत्पादन

Read Next

पश्चिम सेती भारतीय कम्पनीले लिए लगत्तै प्रसारण लाइनले गति लिँदै

Leave a Reply

Your email address will not be published.