Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

३ हजार १ सय मेगावाट बढीका विद्युत आयोजना निर्माणाधीन


काठमाडौं । देशभरमा साढे ३ हजार १ सय मेगावाट बढीका विद्युत आयोजना अहिले निर्माणाधीन छन् । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेका १ सय ४१ विद्युत आयोजना निर्माण भइरहेका हुन् ।

अहिले जलविद्युत तथा सौर्य विद्युत गरी ३ हजार १ सय ६६ मेगावाटका आयोजना निर्माण भइरहेको प्राधिकरण विद्युत व्यापार विभागले जनाएको छ । विभागका अनुसार निर्माणाधीन यी आयोजनाको जडित क्षमता १ मेगावाटदेखि २ सय १६ मेगावाटसम्मका छन् ।

यी आयोजना बढीमा ३ वर्षभित्र सम्पन्न भई सञ्चालनमा आउने गरी निर्माण भइरहेका छन् । केही आयोजना निर्माणको अन्तिम चरणमा पुगिसकेका छन् । चिलिमे जलविद्युत कम्पनीले सहायक कम्पनी अन्तर्गत रसुवामा १ सय ११ मेगावाटको रसुवागढी, ५७ मेगावाटका सान्जेनका आयोजना र सिन्धुपाल्चोकमा १ सय २ मेगावाटको मध्ये भोटेकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

रसुवागढी र सान्जेनका आयोजना अन्तिम चरणमा पुगेका छन् । मध्ये भोटेकोसीको ५० प्रतिशत बढी काम सम्पन्न भएको छ । भूकम्प, नाकाबन्दी, कोरोना महामारी, ठेकेदारसँगको विवाद लगायत कारणले चिलिमेका यी आयोजनामा लक्ष्यअनुसार काम हुन नसक्दा विद्युत उत्पादन तालिका पटक–पटक प्रभावित हुँदै आएको छ ।

सोलुखुम्बुको सोलु कोरिडोरमा निर्माणाधीन ८६ मेगावाटको सोलु दूधकोसी, ८२ मेगावाटको तल्लो सोलु, १९.८ मेगावाटको माथिल्लो सोलु निर्माण अन्तिम चरणमा पुगेका आयोजना हुन् । यी आयोजना अबको केही महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने गरी निर्माण भइरहेका छन् ।

४० मेगावाटको खानी खोला–१ तथा दोर्दी कोरिडोमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २७ मेगावाटको दोर्दी खोला, १२ मेगावाटको दोर्दी–१ आयोजना पनि विद्युत उत्पादनको चरणमा पुग्न लागेका छन् । यी आयोजना अहिलेसम्ममा सञ्चालनमा आइसक्नु पर्ने थियो । तर, गत वर्ष असारमा आएको भीषण बाढीले विद्युत प्रवाह हुने प्रसारण लाइन तथा जलविद्युत आयोजनाको संरचनामा क्षति पुर्याएपछि विद्युत उत्पादन तालिका पनि धकेलिन पुगेको हो ।

दोर्दी कारिडोरमा नै निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको काम पनि ७० प्रतिशत बढी सम्पन्न भइसकेको छ । २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजना पनि अहिले निर्माणाधीन छ । प्रत्यक्ष वैदेशिक लगानीको यो आयोजना केही समय अगाडिबाट निर्माणमा गएको हो ।

६२ मेगावाटको निलगिरि खोला–२, ४८.८ मेगावाटको खिम्ती–२, ५१.४ मेगावाटको लिखु–१, ४० मेगावाटको सुपर न्यादी, ३४ मेगावाटको आँखुखोला, ३३.४ मेगावाटको लिखु–२, ३० मेगावाटको खानी खोला,२२.१ मेगावाटको बलेफी ‘ए’, १५ मेगावाटको मध्ये मोदी, २० मेगावाटको माथिल्लो म्याग्दी आयोजना पनि निर्माणाधीन छन् ।

निर्माणाधीन अन्य आयोजनामा ९९ मेगावाटको लेप्चेखोला, ७३ मेगावाटको मध्यतमोर, ९७.२ मेगावाटको इसुवाखोला, ३२ मेगावाटको करुवा सेती, २५ मेगावाटको सेती नदी, ७५.५ मेगावाटको लुप्चे लिखु, ४९ मेगावाटको मध्यमेवा, ३५.५ मेगावाटको राहुघाट मंगले, २२.९ मेगावाटको मध्य होयङ्गु खोला ‘बी’, २३.५ मेगावाटको सुपर आँखुखोला, ४० मेगावाटको माथिल्लो चमेलियालगायत छन् । निर्माणाधीन यी सबै आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा सुख्खा यामको विद्युत माग समेत आन्तरिक उत्पादनबाट नै धान्न सकिने प्राधिकरणले बताउँदै आएको छ ।


Read Previous

अरुण-४ अघि बढाउन समझदारीपत्रमा हस्ताक्षर, नेपालले १ सय ५२ मेगावाट विद्युत निशुल्क पाउने

Read Next

विपन्नसम्म पुग्ने गरी तीव्र आर्थिक वृद्धि गर्ने अबको विकास मोडल

Leave a Reply

Your email address will not be published.