
काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउन तयारी र समन्वयका लागि केन्द्र सक्रिय गरिएको जनाएको छ।
बाढीबाट प्रभावित हुन सक्ने क्षेत्रमा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने तथा आवश्यक परे आकस्मिक उपचारको व्यवस्था मिलाउने उद्देश्यले केन्द्रलाई सक्रिय बनाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बूढीगण्डकी नदीसहित जोखिममा रहेका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।

