
गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ।
आइतबार बिहान चुमनुब्री गाउँपालिकास्थित उङ्गेल खोलाबाट आएको बाढीसँगै स्यार खोलामा पहिरोसमेत आएको स्थानीय होटल व्यवसायी गोपाल लामाले जानकारी दिएका छन्।
उनका अनुसार स्यार खोलामा पहिरोसहित आएको बाढी थुनिएर एक्कासि बहाव बढ्दा बूढीगण्डकी नदीमा समेत ठूलो बाढी आएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि स्यार खोलामा थुनिएको पानी बगेपछि बूढीगण्डकीमा बाढी आएको जानकारी दिएका छन्।
बाढीले मोटरेबल पुल बगाएपछि सोती र मान्बुबीचको सडक सम्पर्क प्रभावित भएको छ। बाढीबाट प्रभावित क्षेत्रमा भएको थप क्षति तथा यातायात अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

