
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार जनता, संसद् र राजनीतिक दलसँग संवाद नगरी स्वेच्छाचारी बाटोतर्फ अघि बढ्न खोजेको भन्दै आलोचना गरेका छन्।
आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोखरेलले राष्ट्रिय मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको बताए।
उनले सरकार भने राजनीतिक दल, संसद् र नागरिकसँग संवाद गर्न तयार नरहेको आरोप लगाए।
‘रास्वपाका सभापति रवि लामिछानेले राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनका लागि राष्ट्रिय मुद्दाहरूमा निरन्तर प्रयत्न गर्नुहुन्छ। तर सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन,’ पोखरेलले भने।
उनले सरकार संसद्सँग समेत संवाद नगरेको र नागरिकसँग पनि संवाद गर्न नचाहेको बताए।
‘सरकार संसद्सँग संवाद गर्दैन, नागरिकसँग संवाद गर्दैन। सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन,’ उनले भने।
पोखरेलले सरकारको यस्तो कार्यशैलीले लोकतान्त्रिक संवाद र सहकार्य कमजोर हुनेतर्फ संकेत गर्दै चिन्ता व्यक्त गरेका छन्।

