Nepal Purbadhar

विद्युत प्राधिकरणले २७ वटा हाइड्रोको आरसीओडी थप्यो, अरुको कहिले थपिन्छ?


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २७ वटा जलविद्युत आयोजनाको व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थपेको छ ।

कुल ५४० मेगावाटका जलविद्युत आयोजनाको आरसीओडी थपिएको हो । सबैभन्दा ठूलो आयोजना भिजन इनर्जी एण्ड पावर लिमिटेको ५७.५ मेगावाट क्षमताको नुप्चे लिखु हाइड्रोपावर छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान) को पहलमा आरसीओडी थपिएको हो । इप्पानका उपाध्यक्ष नरेन्द्र बल्लभ पन्तले आरसीओडी थप्न विशेष पहल गरेका थिए ।

इप्पानको पहलपछि विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेर निर्माणका विभिन्न चरणमा रहेका तर निर्धारित समयमा व्यावसायिक उत्पादनमा आउन नसकेका जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढाएको थियो।

यसका लागि प्राधिकरणले आयोजनाहरूलाई पहिलो पटक स्पष्ट मापदण्डका आधारमा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो । असार ३२ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति, पीपीएअन्तर्गतका दायित्वको कार्यान्वयन र आरसीओडीको अवस्थालाई आधार मानेर वर्गीकरण गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार पहिलो चरणमा समूह ‘क’ र ‘ख’ मा परेका आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढाइएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् प्रवर्द्धकहरूसँगको छलफलमा सरकारले निजी क्षेत्रलाई समस्यामा पार्ने नभई निर्माणाधीन आयोजनालाई सहजीकरण गर्ने उद्देश्यले आरसीओडी थप गर्न लागेको बताएका थिए । उनले यस्तो निर्णय कुनै व्यक्ति विशेषको इच्छाअनुसार नभई संस्थागत प्रणालीमार्फत हुने व्यवस्था विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका थिए। निजी क्षेत्रको आत्मसम्मान र लगानी सुरक्षाप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले प्रवर्द्धकहरूले पनि आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्नेमा जोड दिएका थिए।

प्राधिकरणका अनुसार हाल ८ हजार २९२ मेगावाट क्षमताका ३२० जलविद्युत् आयोजना निर्माणका विभिन्न चरणमा छन्। तीमध्ये समूह ‘क’ मा ४ हजार ४९१ मेगावाट क्षमताका १५० आयोजना र समूह ‘ख’ मा १ हजार ४२० मेगावाट क्षमताका ६८ आयोजना छन्। बाँकी आयोजना समूह ‘ग’ र ‘घ’ मा वर्गीकृत भएका छन्।

कुन समूहमा कुन आयोजना ?

प्राधिकरणले तयार गरेको मापदण्डअनुसार समूह ‘क’मा आरसीओडी अवधि समाप्त नभएका तथा उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन र जग्गा व्यवस्थापनलगायत पीपीएमा उल्लेखित दायित्व पूरा गरेका वा सम्झौताअनुसार पूरा गर्न बाँकी समय रहेका आयोजना पर्नेछन्।

समूह ‘ख’मा आरसीओडी सकिए पनि प्राधिकरणतर्फबाट प्रसारण लाइन वा सबस्टेसन निर्माणमा भएको ढिलाइका कारण सञ्चालनमा आउन नसकेका आयोजना समावेश छन्। त्यस्तै, काबुबाहिरको परिस्थितिका कारण निर्माण प्रभावित भई आवश्यक प्रमाणसहित आरसीओडी थपको स्वीकृति पाएका आयोजना तथा आरसीओडी अवधि सकिँदासम्म कम्तीमा २५ प्रतिशत भौतिक प्रगति हासिल गरेका आयोजना पनि यही समूहमा राखिएका छन्।

समूह ‘ग’मा आरसीओडी नसकिए पनि उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन वा जग्गा व्यवस्थापनजस्ता आधारभूत दायित्व पूरा नगरेका वा आरसीओडी समाप्त हुँदासम्म २५ प्रतिशतभन्दा कम भौतिक प्रगति भएका आयोजना पर्नेछन्।

त्यस्तै, समूह ‘घ’मा आरसीओडी सकिएपछि पनि उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन र जग्गा व्यवस्थापनजस्ता अनिवार्य दायित्व पूरा नगरेका वा सर्वेक्षण तथा उत्पादन अनुमतिपत्र नै खारेज भएका आयोजना राखिएका छन्।

समूह ‘ख’का आयोजनाको नियमित अनुगमन

प्राधिकरणले समूह ‘ख’मा परेका आयोजनाको नियमित अनुगमन गर्ने जनाएको छ। विद्युत् व्यापार विभागले आयोजना समयमै सम्पन्न गर्न आवश्यक निर्देशन दिनेछ भने निर्देशन कार्यान्वयनको समेत अनुगमन गरिनेछ।

आवश्यकताअनुसार बढीमा छ महिनाभित्र आयोजनाको पुनः वर्गीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

यता, समूह ‘ग’मा रहेका आयोजनालाई पीपीएअनुसार ‘नोटिस अफ डिफल्ट’ जारी गरिनेछ। त्यसपछि पनि चित्तबुझ्दो सुधार वा जवाफ नआएमा सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले भौतिक प्रगति मापनका लागि २०७१ को कार्यविधिलाई आधार बनाएको छ। त्यसअनुसार हेडवर्क्स, सुरुङ, पाइपलाइन र पावरहाउसलगायत मुख्य संरचनाको निर्माण शुरू भई उल्लेखनीय प्रगति भएको अवस्थालाई भौतिक प्रगति मानिनेछ।

सौर्य आयोजनाका हकमा प्यानल खरिद सम्झौता, एलसी खोलिएको, जग्गा व्यवस्थापन सम्पन्न भएको तथा माउन्टिङ स्ट्रक्चर र फाउन्डेसन निर्माण शुरू भएको अवस्थालाई पनि प्रगतिको सूचकका रूपमा स्वीकार गरिनेछ।

यी हुन आरसीओडी थपिएका आयोजना

कुल २७ वटा आयोजनाको आरसीओडी थपिएको छ । जसको कुल क्षमता ५४०.४७ मेगावाट छ । प्राधिकरणले पहिलो चरणमा २७ वटा आयोजनाको थपेको छ । थप आयोजनाहरुको दोस्रो चरणमा आरसीओडी थप्न लागेको प्राधिकरणका एक इन्जिनियरले बताए । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नै अग्रसरता लिएपछि आरसीओडी थपिएको हो ।


Read Previous

ऊर्जामन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभार

Read Next

अतिरिक्त बिजुलीको बजार खोज्दै सरकार, निजी क्षेत्रलाई व्यापारमा ल्याउने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar