Nepal Purbadhar

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

फाइल तस्बीर।


काठमाडौं। सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित क्षेत्रमा पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ आवश्यक पर्ने जनाएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय तथा निकायबाट प्राप्त ५०४ ओटा योजना तथा कार्यक्रमका लागि उक्त रकम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत यी योजना तथा कार्यक्रमका लागि अर्थ मन्त्रालयमार्फत स्रोत व्यवस्थापन गरिनेछ।

लागत अनुमान खुल्न बाँकी रहेका तथा प्राथमिकीकरण हुन नसकेका आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको काम संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा भइरहेको भन्दै पुनःनिर्माण र पुनःस्थापनाको काम पनि सोहीअनुसार अघि बढाइने बताए।

बैठकमा विपक्षी दल तथा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे तथा बागमती, गण्डकी, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीले पुनःनिर्माण र पुनःस्थापनाको काममा पूर्ण साथ रहने प्रतिबद्धता जनाएका थिए।

परिषद् बैठकले भोटेकोशी-त्रिशूली बाढी तथा मनसुनजन्य विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

त्यस्तै, विपद्का बेला खोज, उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्र, स्वयंसेवक तथा सञ्चारकर्मीका साथै सहयोग गर्ने दातृराष्ट्र र विकास साझेदारप्रति परिषद्ले धन्यवाद व्यक्त गरेको छ।

परिषद्का सदस्य-सचिव तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार बैठकले प्रभावित क्षेत्रमा अत्यावश्यक खोज तथा उद्धारसँगै पुनःनिर्माण र पुनःस्थापनाको काम तीव्र रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ।

उनका अनुसार जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति तथा स्थलगत अवलोकनबाट प्राप्त सिफारिसका आधारमा पुनःनिर्माण र पुनःस्थापनाका योजना तयार गरी बजेट व्यवस्थापनका लागि सिफारिस गरिएको हो।


Read Previous

सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar