
काठमाडौं। काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माणको काम धमाधम भइरहेको छ। माइतीघर-बानेश्वर सडकखण्डअन्तर्गत जिल्ला अदालत अगाडि पैदल यात्रुको चाप बढ्दै गएपछि सुरक्षित रूपमा सडक वारपार गर्न सहज बनाउने उद्देश्यले आकाशे पुल निर्माण भइरहेको हो।

उक्त स्थानमा जेब्राक्रसमार्फत सडक पार गर्ने पैदल यात्रुको संख्या धेरै हुने गरेको छ। आकाशे पुल नहुँदा व्यस्त सडकमा सवारीसाधनको चापबीच पैदल यात्रु जोखिम मोलेर सडक पार गर्न बाध्य हुँदै आएका छन्।
करिब एक वर्षअघि निर्माण प्रक्रिया सुरू भए पनि पछिल्लो समय आकाशे पुल निर्माणले गति लिएको हो। अहिले निर्माणस्थलमा संरचना तयार गर्ने, फलामे संरचना जडान गर्ने तथा अन्य निर्माणसम्बन्धी काम भइरहेको छ।

सवारीसाधन र पैदल यात्रुको अत्यधिक चाप रहने बबरमहलसँगै शान्तिनगर क्षेत्रमा पनि आकाशे पुल निर्माणको काम अघि बढाइएको छ। पैदल यात्रुको सुरक्षित र सहज आवागमनलाई ध्यानमा राख्दै सरकारले यी स्थानमा आकाशे पुल निर्माणका लागि बजेट विनियोजन गरेको हो।
भौतिक पूर्वाधार मन्त्रालयले रणनीतिक सडकअन्तर्गत बबरमहलमा आकाशे पुल निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ तथा मीनभवन क्षेत्रमा आकाशे पुल निर्माणका लागि ४ करोड रुपैयाँ बजेट छुट्याएको छ।
आकाशे पुल निर्माण सम्पन्न भएपछि व्यस्त सडकमा पैदल यात्रुले सुरक्षित रूपमा सडक पार गर्न पाउने तथा सवारी आवागमनसमेत सहज हुने अपेक्षा गरिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

