
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले राष्ट्रहितमा अघि बढाउने मुद्दामा कांग्रेस सहयोग र साथ दिन तयार रहेको बताएका छन्।
काठमाडौंको खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले जलवायु परिवर्तनका मुद्दामा सरकारलाई कांग्रेसले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए।
उनले संविधान संशोधनको विषय संसद्को गणितीय खेलमा सीमित हुन नहुने बताए। संविधान संशोधन सत्ता र प्रतिपक्षको चाहनाभन्दा माथि उठेर राष्ट्रिय चिन्तन, समग्र एकता र भावनाको विषय बन्नुपर्ने उनको भनाइ छ।
‘संविधान संशोधनको विषय सत्ता र प्रतिपक्षको चाहनाको मात्रै विषय बन्नु हुँदैन। संविधान संशोधनको विषय गणितको विषय मात्रै बन्न हुँदैन,’ शर्माले भने।
सरकारले संविधान संशोधनको विषय व्यवस्थित र परिपक्व ढंगले अघि बढाए संविधानले परिकल्पना गरेअनुसार कांग्रेसले साथ दिने उनले बताए।
संविधान संशोधन गर्दा जेनजी आन्दोलनको मर्म र भावना, मधेश आन्दोलन तथा विभिन्न समूह र भूगोलबाट उठेका मागलाई समेत सम्बोधन गर्नुपर्नेमा शर्माले जोड दिए।

