Nepal Purbadhar

बागलुङमा डेंगी फैलँदो, कारण र भेरियन्ट पहिचान गर्न सरकारी विज्ञ टोली परिचालन


बागलुङ। देशभरमै डेंगी संक्रमण तीव्र रूपमा फैलिरहेको बागलुङमा संक्रमणको कारण र फैलिरहेको डेंगीको भेरियन्ट पहिचान गर्न सरकारी विज्ञ टोली परिचालन गरिएको छ।

स्वास्थ्य सेवा विभागका डा. गोकर्ण दाहालको नेतृत्वमा फिल्ड इपिडिमियोलोजिस्ट कौशल सुवेदी, विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्त, नेपाल प्रहरीलगायतको टोलीले पछिल्लो दुई दिनदेखि बागलुङमा नमुना संकलन तथा भेक्टर सर्वेक्षण गरिरहेको छ।

टोलीले डेंगी संक्रमित र संक्रमित नभएका व्यक्तिबीच संक्रमणको जोखिमका कारक पहिचान गर्न केस-कन्ट्रोल अध्ययनसमेत गरिरहेको छ। धौलागिरि प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतका नमुना थप परीक्षण गरी डेंगीको भेरियन्ट पहिचान गर्ने काम भइरहेको जनाइएको छ।

प्रारम्भिक सर्वेक्षणका क्रममा बागलुङ नगरपालिका-१, २ र ३ का ७७ घरधुरीमध्ये ३६ ओटा घरमा डेंगी सार्ने एडिस लामखुट्टेको लार्भा फेला परेको छ। यो सर्वेक्षण गरिएका घरधुरीको करिब ४७ प्रतिशत हो।

बागलुङमा हालसम्म १ हजार ५८९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। यो सरकारी अस्पतालमा परीक्षण गराएका संक्रमितको संख्या मात्रै हो। निजी क्लिनिकमा परीक्षण गराउनेको संख्या समेत जोड्दा संक्रमितको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ।

विज्ञ टोलीले संक्रमण फैलिनुको कारण, लामखुट्टेको अवस्था तथा जोखिमका प्रमुख कारकबारे अध्ययन गरिरहेको छ। अध्ययनबाट प्राप्त तथ्यका आधारमा संक्रमण नियन्त्रणका लागि आवश्यक उपाय पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तस्बिर: डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी


Read Previous

बबरमहलमा आकाशे पुल निर्माण तीव्र, पैदल यात्रुलाई सहज हुने अपेक्षा- तस्बिरमा हेर्नुहोस्

Read Next

टोयोटाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar