
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्री सिता बादी।
काठमाडौं, १५ असोज २०८३ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको विषयका रूपमा नभई ज्ञान, अनुभव, सीप र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै राष्ट्र निर्माणमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने बताएकी छन्।
३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले परिवार, समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका सम्पूर्ण ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै सुस्वास्थ्य, सुख, शान्ति तथा दीर्घ जीवनको शुभकामना दिएकी हुन्।
यस वर्षको अन्तर्राष्ट्रिय नारा “The Age of Longevity: Rethinking Systems for Longer Lives” अर्थात् “दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ” रहेको उल्लेख गर्दै मन्त्री बादीले दीर्घ जीवन उमेरको निरन्तरता मात्र नभई ज्ञान, अनुभव, सीप, संस्कार, सभ्यता र योगदानको अमूल्य सम्पदा भएको बताएकी छन्।
बदलिँदो पारिवारिक संरचना, सामाजिक परिवेश तथा आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, संरक्षण, हेरचाह र एक्लोपनका विषय थप चुनौतीपूर्ण बन्दै गएको उनले उल्लेख गरेकी छन्।
संविधान तथा प्रचलित कानूनबमोजिम सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा, स्वास्थ्य, संरक्षण तथा हेरचाहसम्बन्धी कार्यक्रम र सेवा प्रदान गर्दै आएको मन्त्री बादीले बताएकी छन्।
‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापना गर्ने
मन्त्री बादीले ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभव भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापना गरी संस्थागत रूपमा विकास गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकता दिने घोषणा गरेकी छन्।
डिजिटल प्रविधिको प्रयोगमार्फत ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभवको अभिलेखीकरण तथा पुस्तान्तरण गर्दै उनीहरूको अनुभवलाई समाज र राष्ट्रको विकासमा उपयोग गर्ने अवधारणासहित अनुभव बैंकलाई अघि बढाइने सन्देशमा उल्लेख छ।
यसैगरी, भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति मन्त्री बादीले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन्। घाइते तथा प्रभावित ज्येष्ठ नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उद्धार, राहत, संरक्षण तथा पुनःस्थापनाका लागि मन्त्रालयले आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
“ज्येष्ठ नागरिकलाई केवल संरक्षणको विषयका रूपमा नभई ज्ञान, अनुभव र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै उहाँहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो,” मन्त्री बादीको शुभकामना सन्देशमा उल्लेख छ।
ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र अधिकारलाई व्यवहारमा रूपान्तरण गर्दै उनीहरूको जीवनलाई सुरक्षित, मर्यादित, सक्रिय र अर्थपूर्ण बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको मन्त्री बादीले बताएकी छन्।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस हरेक वर्ष अक्टोबर १ मा विश्वभर मनाइँदै आएको छ।




