
दमौली। अविरल वर्षापछि आएको बाढीपहिरोले तनहुँको घिरिङ गाउँपालिकामा सात ओटा झोलुङ्गे पुल र एक ओटा बेलिब्रिजमा क्षति पुगेको छ। बाढीपहिरोका कारण भिमाद-रामपुर सडकखण्डसमेत प्रभावित भएको छ।
गाउँपालिकाका विभिन्न स्थानमा भएको क्षतिको अवस्था बुझ्न जिल्ला सुरक्षा समितिको टोलीले बुधबार स्थलगत अनुगमन गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापालगायतको टोलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गरेको हो।
बाढीपहिरोले पुल तथा सडकमा क्षति पुर्याएपछि स्थानीयवासीको आवतजावत प्रभावित भएको छ। विशेषगरी झोलुङ्गे पुलमा भएको क्षतिले गाउँका विभिन्न बस्तीबीचको सम्पर्कमा समस्या आएको छ। बेलिब्रिज तथा सडकमा क्षति पुगेपछि यातायात सञ्चालनमा समेत चुनौती थपिएको छ।
अनुगमन टोलीले क्षतिग्रस्त संरचनाको अवस्थाबारे स्थलगत जानकारी लिँदै तत्काल गर्नुपर्ने व्यवस्थापन तथा पुनःनिर्माणका लागि आवश्यक समन्वयबारे छलफल गरेको छ।
घिरिङ-डेढगाउँ पुलको सर्भे
यसैबीच, घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिका-डेढगाउँ जोड्ने घिरिङ-डेढगाउँ पुलको स्थलगत निरीक्षण तथा नापजाँच गरिएको छ।
कालीगण्डकीमा आएको भीषण बाढीले पुलको पहुँचमार्ग बगाएपछि उक्त मार्गमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। पुलमा क्षति पुगेपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ।
घिरिङ गाउँपालिकाको समन्वयमा सडक विभाग, दमौलीको प्राविधिक टोलीले क्षतिग्रस्त पुलको स्थलगत निरीक्षण तथा नापजाँच गरेको हो। सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा प्राविधिक टोलीले पुलको अवस्थाबारे आवश्यक विवरण संकलन गरेको गाउँपालिकाले जनाएको छ।
घिरिङ गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीले सर्भे सम्पन्न भएसँगै तत्काल वैकल्पिक व्यवस्था मिलाउने तथा पुल पुनःनिर्माणको काम अघि बढ्ने विश्वास व्यक्त गरे।




