
चितवन। चितवनको भरतपुरका ६ ओटा व्यस्त चोकमा अत्याधुनिक ट्राफिक लाइट जडानको काम तीव्र पारिएको छ। सवारी आवागमनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले सडक डिभिजन कार्यालयको प्राविधिक सहयोग र बजेटमा भइरहेको आयोजनाको ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ।
पुल्चोक, सहिदचोक, चौबिसकोठी, हाकिमचोक, पारस बसपार्क र मालपोत चोकमा ट्राफिक लाइट जडान भइरहेको हो। दशैंअघि नै सबै चोकमा बत्ती बालेर सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ।

आयोजनाका मुख्य प्राविधिक एवं साइट इन्जिनियर धीरज राउतका अनुसार ६२ देखि ६६ ओटा पोलमध्ये ५० प्रतिशतभन्दा बढीमा काम सकिएको छ। नारायणगढको मुख्य प्रवेशद्वार पुल्चोकमा चाँडै बत्ती बालेर परीक्षण सञ्चालन गर्ने तयारी गरिएको उनले बताए।
लगातारको वर्षाका कारण हाइटेन्सन लाइनको विद्युतीय काम प्रभावित हुँदा निर्धारित समयभन्दा केही ढिलाइ भएको छ। असोज २० गतेभित्रै केही चोकमा बत्ती सञ्चालन गर्ने लक्ष्य राखिए पनि मौसमका कारण काम प्रभावित भएको राउतले बताए।
आयोजनामा ६ मिटर आर्म भएका ७ मिटर अग्ला ‘भेक्युलर पोल’ र पैदलयात्रीका लागि ‘पेडेस्ट्रियन पोल’ प्रयोग गरिएको छ। पारस बसपार्क क्षेत्रको काम सकिएपछि बाँकी करिब ३० ओटा पेडेस्ट्रियन पोल दुईदेखि तीन दिनभित्र जडान गर्ने लक्ष्य राखिएको छ।
हाल मिटर जडान, काउन्टर र कन्ट्रोल बक्स जोड्नेलगायत अन्तिम चरणका काम भइरहेका छन्।

कम्प्युटरबाटै बत्तीको समय नियन्त्रण
जडान हुने ट्राफिक लाइट काउन्टर प्रणालीमा आधारित हुनेछन्। ती बत्तीले सिधा जाने, दायाँ र बायाँ मोड्ने सवारीसाधनका साथै पैदलयात्रीलाई समेत स्पष्ट संकेत दिनेछन्।
ट्राफिक लाइटको सञ्चालन तथा अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट कम्प्युटर प्रविधिको माध्यमबाट गरिनेछ। आवश्यकता अनुसार कुन चोकमा कति सेकेन्ड बत्ती बाल्ने भन्ने समयसमेत कन्ट्रोल रुमबाटै निर्धारण र नियमन गर्न सकिनेछ।

१ करोड २३ लाख रुपैयाँको आयोजना
कुल १ करोड २३ लाख रुपैयाँ लागतमा एभरेस्ट टु सी – अमरज्योति जेभीले २०८२ साउन २० गते ठेक्का पाएको थियो। सम्झौताअनुसार चैत २० गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो।
तोकिएको समयमा काम सम्पन्न हुन नसकेपछि नियमअनुसार गत वैशाखदेखि निर्माण कम्पनीलाई दैनिक ५ हजार रुपैयाँका दरले जरिवाना तिराउँदै काम अघि बढाइएको सडक डिभिजन कार्यालयअन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख इन्जिनियर राकेश महर्जनले बताए।

निर्माण पक्षका इन्जिनियर राउतले काठमाडौंमा आन्दोलनका क्रममा क्षति पुगेका ट्राफिक बत्ती तथा प्राविधिक संरचनाको मर्मत गर्नुपरेको, विभागबाट प्राविधिक लाइनअप पाउन समय लागेको र आवश्यक उपकरण बाटोमै अड्किएका कारण प्रारम्भिक चरणमा काम ढिला भएको बताए।

तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी




