
काठमाडौं। लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध भएका चितवनको चेपाङ मार्ग र बेँसीसहर-चामे सडक आंशिक रूपमा सञ्चालनमा आएका छन्। दुवै सडकमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइए पनि केही खण्डमा अझै जोखिम र अवरोध कायम छ।
चेपाङ मार्ग आंशिक सञ्चालनमा
चितवनको भण्डारादेखि धादिङको मलेखुसम्म जोड्ने ६६ किलोमिटर लामो चेपाङ मार्ग पहिरोका कारण अवरुद्ध भएको थियो। पूर्व-पश्चिम राजमार्गको भण्डाराबाट पहाडी क्षेत्र हुँदै मलेखुसम्म पुग्ने सडकको राप्ती नगरपालिका-११ बेलडाँडामा पहिरो खसेपछि आवतजावतमा समस्या भएको हो।
सडकका अन्य स्थानमा समेत पहिरो खसेको र सडकको अवस्था जीर्ण रहेकाले चेपाङ मार्ग अझै मलेखुसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। पछिल्लो चार-पाँच दिनदेखि पहिरो खसेपछि स्थानीयवासी जोखिम मोलेर यात्रा गर्न बाध्य भएका थिए।
मंगलबार सोही मार्ग हुँदै राप्ती नगरपालिका-१३ कालिटारमा नागरिकता वितरणका लागि जाँदै गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको टोलीसमेत पहिरोका कारण बाटोमै रोकिएको थियो। स्थानीय जनप्रतिनिधि र बासिन्दाले सडक तत्काल खुलाउन आग्रह गरेका थिए।
वडाध्यक्ष अशोककुमार प्रजाका अनुसार सडकका विभिन्न स्थानमा पहिरो खसेपछि स्थानीयवासीले ठूलो सास्ती खेपिरहेका छन्। सडकको दुरवस्थाका कारण बोलेरो गाडीमा सामान लैजानसमेत समस्या हुने र कतिपय स्थानमा पैदल हिँड्नसमेत कठिन रहेको उनले बताए।
बुधबारदेखि सडक केही हदसम्म सञ्चालनमा आएको वडाध्यक्ष प्रजाले जानकारी दिए।
यसैबीच, जिल्ला प्रशासन कार्यालय चितवनको टोलीले मंगलबार पहिरो र सडकको दुरवस्थाबीच बोलेरो गाडीमा राप्ती नगरपालिका-१३ कालिटार र वडा नं. १२ यौरालीटार पुगेर नागरिकता वितरण गरेको छ। जिल्ला निर्वाचन कार्यालयको टोलीले मतदाता नामावलीमा नाम दर्ताका लागि आवश्यक विवरणसमेत संकलन गरेको छ।
चेपाङ मार्ग पूर्ण रूपमा सञ्चालनमा आएमा नारायणगढ-मुग्लिन सडकखण्ड तथा कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध हुँदा प्रयोग गर्न सकिने वैकल्पिक मार्गका रूपमा उपयोग गर्न सकिनेछ।
लमजुङ खण्डमा बेँसीसहर-चामे सडक सामान्य
लगातारको वर्षा र बाढीका कारण अवरुद्ध बेँसीसहर-चामे सडकको लमजुङ खण्डमा भने यातायात आवागमन सामान्य भएको छ।
डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार मस्र्याङ्दी गाउँपालिका-४ रामबजारलगायत लमजुङतर्फका क्षतिग्रस्त स्थानमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो।
हाल बेँसीसहरदेखि मनाङको खोत्रो नजिकसम्म सवारीसाधन सञ्चालन भइरहेका छन्। तर मनाङको नासों गाउँपालिका-३ खोत्रोदेखि माथिल्लो क्षेत्रमा भने सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
वर्षाका कारण विभिन्न स्थानमा सडक भासिनुका साथै पहिरो र कटानबाट क्षति पुगेको छ। खोत्रोमा ठूला ढुङ्गासहितको पहिरो खसेकाले सडक खुलाउन कठिनाइ भएको आयोजनाले जनाएको छ।
ठूला ढुङ्गा हटाउन ब्लास्टिङ गर्नुपर्ने अवस्था रहेकाले प्राविधिक टोली परिचालन गरिएको छ। आयोजनाका दुई डोजरसहित थप एक डोजर परिचालन गरी माथिल्लो तथा तल्लो क्षेत्रमा आवश्यकताअनुसार सडक खुलाउने र मर्मतको काम भइरहेको विष्टले बताए।
उनका अनुसार सडकका विभिन्न स्थानमा अझै समस्या छ र करिब सात-आठ ठाउँमा सडक भासिएको छ।
मौसममा सुधार आएसँगै अवरुद्ध सडक खुलाउने तथा क्षतिग्रस्त संरचना मर्मत गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको आयोजनाले जनाएको छ।
करिब ६५ किलोमिटर लामो बेँसीसहर-चामे सडक मनाङलाई लमजुङ हुँदै अन्य जिल्लासँग जोड्ने मुख्य सडक हो। लगातारको वर्षापछि विभिन्न स्थानमा क्षति पुगेकाले सडक सञ्चालनमा समस्या आएको थियो।




