Nepal Purbadhar

अविरल वर्षाले हुम्लाका मुख्य तथा ग्रामीण सडक अवरुद्ध, ७० भन्दा बढी स्थानमा पहिरो


हुम्ला। अविरल वर्षापछि आएको बाढी, पहिरो र ढुङ्गा खस्दा हुम्लाका मुख्य तथा ग्रामीण सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

चीनसँगको सीमा जोड्ने सिमकोट-हिल्सा सडक, कर्णाली करिडोर तथा जिल्लाका सातवटै गाउँपालिकाका ग्रामीण सडकमा क्षति पुगेपछि जिल्लाको सडक सञ्जाल प्रभावित भएको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार वर्षापछि विभिन्न स्थानमा पहिरो र ढुङ्गा खसेर सडक अवरुद्ध भएका छन्। बाढीले कल्भर्टलगायत सडक संरचनासमेत बगाएको छ। सदरमुकाममा विद्युत् अवरोध भएकाले क्षतिको पूर्ण विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले बताए।

कर्णाली करिडोरमा पहिरो र ढुङ्गा

कर्णाली करिडोरअन्तर्गत हुम्लाको कवाडीदेखि हिल्सासम्म विभिन्न स्थानमा पहिरो खसेको छ। कतिपय स्थानमा ठूला ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहिरो र ढुङ्गा पन्छाएर कवाडी-गिउसी सडकखण्ड सञ्चालनमा ल्याइएको छ। निरन्तर काम गर्न सके माथिल्लो खण्ड पनि बुधबारसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

वर्षाका कारण जिल्लाका सातवटै गाउँपालिकाका वडा केन्द्र तथा गाउँबस्ती जोड्ने ग्रामीण सडकमा समेत क्षति पुगेको छ। ताँजाकोट गाउँपालिकाको केन्द्र जाने सडकका विभिन्न स्थानमा क्षति पुगेको छ।

अदानचुली गाउँपालिका केन्द्रदेखि वडा नं. ५ र ६ जाने सडक अवरुद्ध हुँदा विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको वडा नं. ५ का वडा सदस्य सिंह बोहोराले बताए।

७० भन्दा बढी स्थानमा पहिरो

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार जिल्लाका ग्रामीण सडकमा ७० भन्दा बढी स्थानमा पहिरो खसेको छ। अवरुद्ध सडक सञ्चालनमा ल्याउन सबै गाउँपालिकासँग समन्वय भइरहेको उनले बताए।

अवरुद्ध सडक खुलाउन आइतबारदेखि जिल्ला प्रशासन कार्यालयमा कमान्ड पोस्टको बैठक नियमित रूपमा बसिरहेको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले जानकारी दिए। बैठकमार्फत सम्बन्धित निकायसँग समन्वय गरी सडक सञ्चालनको प्रयास भइरहेको छ।

सडक अवरुद्ध भएपछि असोज १० गतेका लागि तय गरिएको नेपाली कांग्रेसको प्रदेश अधिवेशनसमेत तीन दिनपछि असोज १३ गते मात्र सम्पन्न भएको थियो। अधिवेशनमा सहभागी हुन तल्लो क्षेत्रबाट सिमकोट पुगेका प्रतिनिधिलाई सडक अवरोधका कारण दुई दिनसम्म लागेको अदानचुली गाउँपालिका-१ का उब्जन थापाले बताए।

उनका अनुसार ठाउँठाउँमा पहिरो र ढुङ्गा खसेपछि सवारीसाधन रोकिँदा कतिपय स्थानमा पैदल हिँड्नुपरेको थियो।

हिउँले नारा र न्यालु लेकको सडक पनि बन्द

उत्तरी हुम्लाको नाम्खा गाउँपालिका-५ स्थित नारा लेक र वडा नं. ६ को लिमी जाने न्यालु लेकमा करिब साढे तीन फिट हिउँ जमेको छ। हिउँ परेपछि ती सडकसमेत बन्द भएका छन्।

हिउँ नपन्छाएसम्म सडक सञ्चालनमा ल्याउन कठिन हुने प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण मुख्य तथा ग्रामीण सडक एकैपटक अवरुद्ध भएपछि हुम्लामा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीको आवागमन र अत्यावश्यक सेवासमेत प्रभावित भएका छन्।


Read Previous

बाढीपहिरोले क्षति पुर्‍याएको बेनी-जोमसोम सडक मर्मत सुरु, नयाँ मार्ग खोल्नेसहितका विकल्प प्रयोग

Read Next

बाढीपहिरोपछि चेपाङ मार्ग र बेँसीसहर-चामे सडक आंशिक सञ्चालनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar