Nepal Purbadhar

बाढीपहिरोले क्षति पुर्‍याएको बेनी-जोमसोम सडक मर्मत सुरु, नयाँ मार्ग खोल्नेसहितका विकल्प प्रयोग


म्याग्दी। पछिल्लो झरीपछि आएको बाढीपहिरोले क्षति पुर्‍याएको म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी-जोमसोम सडकको मर्मत सुरु गरिएको छ।

बेनी-जोमसोम-कोरला सडक योजनाले जोमसोम र बेनी दुवैतर्फबाट सडक मर्मतको काम अघि बढाएको हो। आयोजना प्रमुख तेजश्वी शर्माका अनुसार जोमसोमदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ नागढुङ्गासम्मको सडक मर्मत भइसकेको छ।

उनका अनुसार कालीगण्डकी नदीको कटान, बाढी र पहिरोका कारण २०२ किलोमिटर लामो बेनी-जोमसोम-कोरला सडकको ४६ ठाउँमा क्षति पुगेको छ। मालढुङ्गादेखि बेनी हुँदै गलेश्वरसम्म तथा जोमसोमदेखि दाना हुँदै नागढुङ्गासम्म सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको छ।

रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरदेखि अन्नपूर्ण गाउँपालिकाको भुरुङ-तातोपानी खण्डमा सडक मर्मतका लागि स्थानीयस्तरमा उपलब्ध सडक विभाग, जलविद्युत् आयोजना र निर्माण व्यवसायीका उपकरण तथा मजदुर परिचालन गरिएको छ।

पोखरेबगरको सडक पुलको पहुँचमार्ग पनि मर्मत गरिँदै

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पोखरेबगरमा बगाएको सडक पुलको पहुँचमार्ग मर्मतको काम पनि सुरु गरिने आयोजना प्रमुख शर्माले बताए।

बेनी-जोमसोम सडक अवरुद्ध भएपछि चीनसँगको व्यापारिक नाका कोरलासँगको यातायात सम्पर्कसमेत प्रभावित भएको छ। रसुवा र तातोपानी नाकाको विकल्पका रूपमा प्रयोग हुँदै आएको कोरला नाकासँगको सडक सम्पर्क टुट्दा सामान लिन गएका सयौँ कन्टेनर मुस्ताङमै रोकिएका छन्।

सडक अवरुद्ध हुँदा मुस्ताङका विभिन्न स्थानीय तहसँग म्याग्दीको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको यातायात सम्पर्कसमेत प्रभावित भएको छ। मुस्ताङमा उत्पादन भएको स्याउ र आलु बजार पठाउन समस्या भएको छ भने दशैंका लागि भेडाच्याङ्ग्रा बजारमा लैजान पनि कठिनाइ भएको छ।

सडक अवरुद्ध भएपछि मुस्ताङको पर्यटकीय गतिविधिसमेत प्रभावित भएको छ। बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन तथा जटिल प्रकृतिका बिरामीलाई अस्पताल लैजान हेलिकप्टरको सहायता लिनुपरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।

नयाँ मार्ग खोल्नेसहितका विकल्प प्रयोग

सडक खुलाउन कटिङ, फिलिङ, डाइभर्सन तथा नयाँ मार्ग खोल्नेसहितका विकल्प प्रयोग भइरहेको छ। तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा भने सडक खुलाउन चुनौती देखिएको छ।

यसअघि सडक रहेको क्षेत्रमा कालीगण्डकी नदीले कटान गरेपछि आयोजनाको स्वीचयार्ड नजिकैबाट नदी बगिरहेको छ। सडक खुलाउन स्वीचयार्डमा प्रयोगमा नरहेका वैकल्पिक दुई ओटा टावर हटाउनुपर्ने अवस्था आएको छ।

टावर हटाउनका लागि राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक रघुगङ्गा हाइड्रोपावरले नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए। सडक मर्मतका लागि आवश्यक इन्धन आपूर्तिलाई सहज बनाउने प्रयाससमेत भइरहेको उनले जानकारी दिए।


Read Previous

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

Read Next

अविरल वर्षाले हुम्लाका मुख्य तथा ग्रामीण सडक अवरुद्ध, ७० भन्दा बढी स्थानमा पहिरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar