Nepal Purbadhar

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति


काठमाडौं। सन् २०२६ को शरद ऋतुमा नेपालका विभिन्न २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार शरद ऋतुका लागि ७१ टोलीका ६४८ आरोहीले आरोहण अनुमति लिएका हुन्। अनुमति लिनेमा ४८५ पुरुष र १६३ महिला रहेका छन्।

देशगत रूपमा चीनका सबैभन्दा धेरै ११८ आरोहीले अनुमति लिएका छन्। यस्तै, रूसका ५७, फ्रान्सका ५१, अमेरिकाका ४१, बेलायतका ३८, जर्मनीका ३४, जापानका २१, पोल्याण्डका १९, भारतका १८, अष्ट्रेलियाका १७, क्यानडाका १६, चेक रिपब्लिकका १६, स्पेनका १५, स्वीजरल्याण्डका १३, नेपालका २० र अर्जेन्टिनाका सात आरोहीले अनुमति लिएका छन्।

विभागका अनुसार बेल्जियमका सात, बुल्गेरियाका पाँचलगायत अन्य देशका आरोहीले पनि हिमाल आरोहणका लागि अनुमति लिएका छन्।

मनास्लुमा मात्रै ५०० आरोही

शरद ऋतुमा आरोहण अनुमति दिइएका हिमालमध्ये मनास्लुमा सबैभन्दा धेरै आरोही छन्। ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन्।

मनास्लु आरोहण अनुमति शुल्कबापत विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन गरेको छ।

यस्तै, धौलागिरि-१ आरोहणका लागि चार टोलीका ३४ जना, पुथा हिउँचुलीका लागि दुई टोलीका २० जना, डाङ्गा हिउँचुलीका लागि दुई टोलीका १६ जना र बरुणत्से हिमालका लागि एक टोलीका १० जनाले अनुमति लिएका छन्।

यसैगरी मकालु, गङ्गापूर्णा पश्चिम (लाङ्चेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण-४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमालका लागि पनि आरोहण अनुमति जारी गरिएको विभागले जनाएको छ।

२३ करोड ८९ लाखभन्दा बढी रोयल्टी

पर्यटन विभागले हिमाल आरोहण अनुमति जारी गरेबापत हालसम्म १५ लाख ७१ हजार ६५९ अमेरिकी डलर, अर्थात् २३ करोड ८९ लाख ६४ हजार २९८ रुपैयाँ रोयल्टी संकलन गरेको छ।

शरद ऋतुमा हिमाल आरोहणका लागि विभिन्न देशका आरोहीको सहभागिताले नेपालको पर्वतीय पर्यटन गतिविधि बढेको देखाएको छ।


Read Previous

काठमाडौंका यी स्थानमा १० दिनसम्म बत्ती काटिने

Read Next

बाढीपहिरोले क्षति पुर्‍याएको बेनी-जोमसोम सडक मर्मत सुरु, नयाँ मार्ग खोल्नेसहितका विकल्प प्रयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar