
सांकेतिक रूपमा प्रयोग गरिएको तस्बीर।
काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका २८१ जनाको शव काठमाडौंमा सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ स्थित दक्षिणढोका वन क्षेत्रमा ती शव जमिनमुनि गाडेर सुरक्षित रुपमा व्यवस्थापन गरिएको हो।
प्रहरीका अनुसार विपद्बाट प्रभावित रसुवा, धादिङ र नुवाकोटलगायतका स्थानबाट फेला परेका शवलाई पहिचान तथा डीएनए परीक्षणका लागि काठमाडौं ल्याइएको थियो। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम तथा डीएनए परीक्षणका लागि आवश्यक नमुना संकलन गरेपछि शवलाई सुरक्षित रुपमा व्यवस्थापन गरिएको हो।
प्रत्येक शवबाट डीएनए परीक्षणका लागि आवश्यक नमुना संकलन गरी सुरक्षित राखिएको प्रहरी उपरीक्षक थापाले बताए। भविष्यमा शवको पहिचान खुलेमा सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सकिने गरी शवको विवरण र डीएनए नमुना सुरक्षित राखिएको उनले बताए।
शव व्यवस्थापनका क्रममा विशेष प्रकारको ‘एयरटाइट ब्याग’ प्रयोग गरिएको छ। प्रत्येक शवमा ट्याग नम्बर राखिएको र सोही नम्बरका आधारमा शवको विवरण पहिचान गर्न सकिने गरी अभिलेखसमेत राखिएको प्रहरीले जनाएको छ।
भोटेकोशी बाढीमा ठूलो जनधनको क्षति भएपछि विभिन्न स्थानबाट फेला परेका शवलाई पहिचानका लागि काठमाडौं ल्याइएको थियो। पहिचान हुन बाँकी शवको डीएनए नमुना सुरक्षित राखेर पहिचानको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।


