Nepal Purbadhar

४२० मेगावाटको तिला-२ जलविद्युत आयोजनाका लागि ५२ अर्ब ५५ करोड ऋण लगानी सम्झौता


काठमाडौं। कर्णाली प्रदेशको कालिकोटमा निर्माण हुने ४२० मेगावाट क्षमताको तिला-२ जलविद्युत आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग लगानी सम्झौता भएको छ।

ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धित आयोजनाका लागि एभरेष्ट बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने सम्झौता गरेका हुन्। लगानी गर्ने कन्सोर्टियम बैंकमा सानिमा बैंक सह-अगुवा तथा प्राइम कमर्सियल बैंक, एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंक को-लिड बैंकका रूपमा रहेका छन्।

त्यसैगरी सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक सहभागी बैंकका रूपमा रहेका छन्।

आयोजनाको कुल लागत ७० अर्ब ७ करोड रुपैयाँ रहेको छ। यसको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋणका रूपमा जुटाइनेछ भने बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड रुपैयाँ स्वपुँजीबाट व्यवस्थापन गरिनेछ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत शेयर छुट्याएको जनाएको छ।

कालिकोटको तिलागुफा नगरपालिकामा बाँध तथा खाँडाचक्र नगरपालिकामा विद्युत्गृह निर्माण गरिनेछ। अर्धजलाशययुक्त प्रकृतिको आयोजना दैनिक ६ घण्टासम्म पिकिङ अवधारणामा सञ्चालन गर्न सकिनेछ।

आयोजनाले २०७५ भदौ ७ गते विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको अनुमति पाइसकेको छ। यस्तै, २०८१ कात्तिक ७ गते नेपाल विद्युत् प्राधिकरणसँग २९६.७४ मेगावाट क्षमताका लागि विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ।

आयोजना निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजना सञ्चालनमा आएपछि सुख्खायाममा दैनिक ६ घण्टा पिकिङ क्षमतामा विद्युत् उत्पादन गर्नेछ। यसबाट वार्षिक कुल २ हजार ३१८.७९ गिगावाट आवर विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

उत्पादित विद्युत्मध्ये सुख्खायामको पिक समयमा ४५१.०५ गिगावाट आवर, अफ पिक समयमा २०५.४५ गिगावाट आवर र वर्षायाममा १ हजार ६६२.२९ गिगावाट आवर विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ। उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

लगानी सम्झौता सम्पन्न भएसँगै आयोजनाको वित्तीय व्यवस्थापनको महत्वपूर्ण चरण पूरा भएको कम्पनीले जनाएको छ। उच्च माग हुने समयमा विद्युत् उत्पादन गर्न सक्ने भएकाले तिला-२ आयोजनाले राष्ट्रिय विद्युत् प्रणालीको आपूर्तिमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

आयोजनाका मुख्य प्रवर्द्धकमा स्ट्रीम इन्भेष्टमेन्ट, ऊर्जा इम्प्याक्ट फण्ड, रविन्स यूएसए लगायत विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्ता रहेका छन्।


Read Previous

फेरिँदै लेखनाथ सडकखण्डको मुहार- हेर्नुहोस् फोटोहरूमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar