Nepal Purbadhar

प्राधिकरणलाई आधुनिक र प्रतिस्पर्धी संस्था बनाउने योजना, उत्पादन, खपत र बजार विस्तारमा जोड


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई आधुनिक, व्यावसायिक, पारदर्शी, प्रतिस्पर्धी र वित्तीय रूपमा सुदृढ संस्थाका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले विद्युत् पहुँच विस्तारको चुनौती पार गर्दै नेपाल अब उत्पादित विद्युत्को आर्थिक तथा सामाजिक मूल्य सिर्जना गर्ने चरणमा प्रवेश गरेको बताए।

उनका अनुसार हाल राष्ट्रिय प्रसारण प्रणालीको पहुँच ९७.६ प्रतिशत जनतासम्म पुगेको छ भने करिब ५९ लाख २० हजार ग्राहक विद्युत् सेवासँग जोडिएका छन्। प्रतिव्यक्ति विद्युत् खपत पनि करिब ४६५ किलोवाट घण्टा पुगेको र नेपाल झण्डै ३० अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुगेको उनले बताए।

“यी तथ्यांक केवल उपलब्धिका अंक मात्र होइनन्, यी नेपाल बदलिँदै गएको प्रमाण पनि हुन्,” उनले भने।

चार दशकभन्दा लामो यात्रामा प्राधिकरणले नेपालको ऊर्जा विकासमा ऐतिहासिक भूमिका निर्वाह गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले विद्युत् उत्पादन, प्रसारण र वितरण पूर्वाधार विकाससँगै लाखौँ घरधुरीमा सेवा विस्तार र विद्युत् निर्यातको चरणमा मुलुकलाई प्रवेश गराउन निजी क्षेत्र, सहयोगी निकाय र अन्य सम्बद्ध पक्षको योगदान पनि महत्वपूर्ण रहेको बताए।

अब उत्पादनसँगै खपत र बजार विस्तारमा जोड

मन्त्री श्रेष्ठले अब नेपालको ऊर्जा क्षेत्रको प्राथमिकता विद्युत् उत्पादन बढाउने विषयमा मात्र सीमित नरहेको बताए। उत्पादित विद्युत्बाट अधिकतम आर्थिक तथा सामाजिक मूल्य सिर्जना गर्ने विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

“अब हामीले कति विद्युत् उत्पादन गर्ने भन्ने मात्र होइन, उत्पादित विद्युत्बाट कति आर्थिक र सामाजिक मूल्य सिर्जना गर्ने भन्ने पनि प्राथमिकतामा पर्न गएको छ,” उनले भने।

सरकारले विद्युत् उत्पादनसँगै आन्तरिक खपत वृद्धि, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण र बाह्य बजार विस्तारलाई प्राथमिकतामा राखेको उनले बताए।

चालू आर्थिक वर्षमा प्रसारण पूर्वाधारको विस्तार र सुधारमा विशेष ध्यान दिइएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले उत्पादन बढ्दै जाँदा त्यसअनुसार उच्च विद्युत् भार बहन गर्न सक्ने प्रसारण प्रणाली विकास गर्न नसके उत्पादनको अर्थ नहुने बताए।

उनका अनुसार रणनीतिक महत्वका प्रसारण लाइन, सबस्टेसन, ग्रिडको सुदृढीकरण तथा अन्तरदेशीय प्रसारण पूर्वाधार निर्माणलाई तीव्रता दिने गरी योजना कार्यान्वयनको चरणमा छ।

उत्पादित विद्युत् खेर जाने अवस्था अन्त्य गर्न उत्पादनसँगै प्रसारण सञ्जाल विस्तार गर्नुपर्ने उनले बताए। अतिरिक्त विद्युत् तेस्रो बजारमा निर्यात गरी वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्ने दिशामा पनि सरकार अघि बढिरहेको उनले जानकारी दिए।

वितरण प्रणाली आधुनिकीकरण गरिने

मन्त्री श्रेष्ठले विगतमा विद्युत् पहुँच विस्तार मुख्य चुनौती रहे पनि अब उपभोक्तालाई दिगो, भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराउनु चुनौती बनेको बताए।

“हिजोका दिनमा विद्युत्को पहुँच विस्तार गर्नुपर्ने चुनौती थियो भने आज ग्राहकलाई दिगो र भरपर्दो विद्युत् आपूर्ति चुनौतीपूर्ण देखिएको छ,” उनले भने।

उनका अनुसार आगामी वर्षदेखि वितरण प्रणालीको आधुनिकीकरणलाई विशेष प्राथमिकता दिइनेछ। पुराना तथा जीर्ण संरचनाको प्रतिस्थापन, क्षमता अभिवृद्धि, स्मार्ट प्रणालीको प्रयोग, चुहावट नियन्त्रण, माग व्यवस्थापन तथा सेवा प्रवाहमा डिजिटल प्रविधिको विस्तार आवश्यक भइसकेको उनले बताए।

“उपभोक्ताले विद्युत् पाउने मात्र होइन, भरपर्दो, गुणस्तरीय र अविच्छिन्न विद्युत् सेवा पाउने अवस्था सिर्जना गर्नुपर्छ,” उनले भने।


Read Previous

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता कानुनअनुसार असुल गर्छौं : ऊर्जामन्त्री श्रेष्ठ

Read Next

प्राधिकरणको पुनर्संरचना र निजी तथा बाह्य लगानी आकर्षित गर्ने नीति आवश्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar