
काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल कानुनअनुसार असुल गरिने बताएका छन्।
सोमबार नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लामो समयदेखि विवादमा रहेको बक्यौता महसुल असुलीको विषय कानुनी प्रक्रिया र विधिअनुसार समाधान गरिने बताएका हुन्।
उनले बक्यौता असुलीको विषयलाई कानुन र विधिका आधारमा टुंगो लगाउन सरकार स्पष्ट रहेको बताए।
‘लामो समयदेखि अल्झिएको बक्यौता असुलीको विषय कानुन र विधिका आधारमा समाधान गर्नुपर्नेमा हामी स्पष्ट छौँ,’ उनले भने, ‘सरकार यही बाटोमा अगाडि बढिसकेको छ। प्राधिकरण व्यवस्थापनले पनि सोहीअनुसार दैनिक कार्यसूचीमा राखेर काम गरिरहेको छ।’
मन्त्री श्रेष्ठले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधान गर्दै कानुनअनुसार बक्यौता असुलीलाई अघि बढाउने सरकारको प्रतिबद्धता रहेको बताए।
