
काठमाडौं। नेपालमै डिजाइन र निर्माण गरिएको विद्युतीय स्कुटर ‘यात्री पीटू’ तयार भइरहेको कारखानामा पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली प्रविधि र उत्पादनलाई प्रोत्साहन गर्न सरकारको साथ रहने बताएका छन्।
काठमाडौँको बुढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर अर्थमन्त्री वाग्लेले स्कुटर निर्माणको प्रक्रिया, डिजाइन, सुरक्षा परीक्षण तथा उत्पादनमा प्रयोग भएका प्रविधिबारे जानकारी लिएका हुन्।
कारखाना अवलोकनका क्रममा उनले नेपाली इन्जिनियर र डिजाइनरले आफ्नै देशमा विद्युतीय दुईपांग्रे सवारीसाधन विकास गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए।
“तपाईंहरूले गरेको मेहनत सह्रानीय छ। यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,” उनले भने, “गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोला। अघि बढ्नुहोस्, सरकार तपाईंहरूको साथमा छ।”
‘नेपालमै सम्भव हुने काम यहीँ गरौँ’
अर्थमन्त्री वाग्लेले नेपालमा डिजाइन र इन्जिनियरिङको क्षमता विकास गर्दै उत्पादनलाई विश्व बजारसम्म पुर्याउनेतर्फ ध्यान दिनुपर्ने बताए।
नेपालले आफ्नै डिजाइनमा विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माण गर्नु ऐतिहासिक कदम भएको उल्लेख गर्दै उनले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए।
“एप्पलको डिजाइन क्यालिफोर्नियामा हुन्छ, उत्पादन चीनमा हुन्छ। सकेसम्म तपाईंहरू नेपालमै गर्नुहोस्। सरकारले के–के सहयोग गर्नुपर्ने हो भन्नुस्,” उनले भने, “तर विश्व बजारमा फैलन अरू के–के गर्न सकिन्छ, त्यसमा पनि सोच्नुहोला। नेपाली इन्जिनियर र डिजाइनरहरूले गरेको यो मेहनतको म सम्मान गर्छु।”
नेपालमै बनेको स्कुटर विश्व बजारका स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने बन्नुपर्ने उनको भनाइ छ।
उनले नेपाली उत्पादन अमेरिकी पहाडसम्म पुग्न सक्ने र विदेशमा रहेका नेपालीले समेत गर्वका साथ नेपाली ब्रान्ड खोजेर प्रयोग गर्ने अवस्था सिर्जना होस् भन्ने शुभकामना दिए।
डिजाइनदेखि सुरक्षा परीक्षणसम्म जानकारी
अर्थमन्त्रीलाई यात्री विद्युतीय बाइकका संस्थापक तथा सीईओ असिम पाण्डेले नयाँ स्कुटर ‘यात्री पीटू’को डिजाइन, सुरक्षा परीक्षण, प्रयोग भएका पार्टपुर्जा तथा स्कुटरको परीक्षणका क्रममा प्राप्त अनुभवबारे जानकारी गराएका थिए।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमै विद्युतीय स्कुटर डिजाइन र उत्पादन गर्नु ऐतिहासिक सफलता भएको बताए।
दुईपांग्रे सवारीसाधनको डिजाइन र उत्पादन नेपालमै गर्नुका साथै स्कुटरमा विश्वस्तरमै विशिष्ट मानिने केही विशेषता समावेश गर्न सक्नु नयाँ उपलब्धि भएको उनको भनाइ छ।
पहाड र हिमाली क्षेत्रमा परीक्षण
श्रेष्ठका अनुसार नेपालका कठिन तथा जटिल पहाडी र हिमाली भूभागमा स्कुटरको सफल परीक्षण गरिएको छ। परीक्षणबाट प्राप्त नतिजाका आधारमा स्कुटरलाई छिट्टै सर्वसाधारणका लागि सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए।
कम्पनीका अधिकारीहरूले दुईपांग्रे विद्युतीय सवारीसाधनमा डीसी चार्जर जडान गरिएको स्कुटर नेपालमै निर्माण हुनु विश्वकै पहिलो उपलब्धि भएको दाबी गरेका छन्।
यद्यपि, स्कुटरको विस्तृत प्राविधिक विशेषता र डिजाइन भने सार्वजनिक गर्नुअघि गोप्य राखिएको कम्पनीले जनाएको छ।
कच्चा पदार्थमा सहुलियतको माग
सिप्रदी ट्रेडिङका सीईओ श्रेष्ठले नेपाली उत्पादनलाई बजारमा प्रतिस्पर्धी बनाउन सरकारले विद्युतीय ब्याट्री र स्कुटरका पार्टपुर्जा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा सहुलियतपूर्ण नीति लिनुपर्ने बताए।
नेपालमै डिजाइन र उत्पादनको आधार तयार हुँदै गए पनि उत्पादन लागत, पार्टपुर्जा र कच्चा पदार्थको उपलब्धताजस्ता विषयमा नीतिगत सहजीकरण आवश्यक रहेको उनको भनाइ छ।
नेदरल्याण्ड्सबाट इन्जिनियरिङ अध्ययन पूरा गरेर नेपाल फर्किएका असिम पाण्डेले सन् २०१७ मा विद्युतीय मोटरसाइकल निर्माण गर्ने उद्देश्यले ‘यात्री मोटरसाइकल’ नामक स्टार्टअप स्थापना गरेका थिए।
त्यही कम्पनी अहिले नेपालको अग्रणी सवारीसाधन बिक्रेता सिप्रदी ट्रेडिङसँगको व्यावसायिक सहकार्यमा ‘सिप्रदी यात्री’का रूपमा अघि बढेको छ।
सिप्रदी यात्रीले नेपालमै आफ्नै डिजाइन र इन्जिनियरिङमा विद्युतीय दुईपांग्रे सवारीसाधन विकास गर्दै आएको छ। ‘यात्री पीटू’ पनि कम्पनीकै डिजाइन तथा इन्जिनियरिङमा तयार गरिएको हो।
स्कुटरको गुणस्तर परीक्षण भारतको दुईपांग्रे सवारीसाधनको गुणस्तर परीक्षण गर्ने सम्बन्धित निकायबाट समेत गराइएको कम्पनीले जनाएको छ।
अबको चरणमा स्कुटरलाई औपचारिक रूपमा सार्वजनिक गरी बजारमा ल्याउने तयारी भइरहेको छ।

