
काठमाडौं। ग्लोबल आइएमई बैंकले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा व्यक्तिगत गाडी कर्जामा विशेष योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा लिन सक्नेछन्। हालको आधारदरअनुसार कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ। आधारदर परिवर्तन भएमा कर्जाको ब्याजदर पनि सोहीअनुसार समायोजन हुनेछ।
त्यस्तै, एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकका लागि बैंकले ३ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको छ। ३ वर्षपछि भने बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुने जनाइएको छ।
बैंकले एक्स्पो परिसरमा स्टल राखेर गाडी खरिद गर्न इच्छुक ग्राहकका लागि कर्जा आवेदन तथा प्रक्रियाको व्यवस्था गरेको छ। आवश्यक कागजात पूरा भएपछि अधिकतम ३ दिनभित्र कर्जा स्वीकृति पत्र उपलब्ध गराउने बैंकले जनाएको छ।
ग्लोबल आइएमई बैंकका अनुसार बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ ओटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ। बैंकले ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको दाबी गरेको छ।
