
काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्ने दोस्रो नाइमा मोबिलिटी एक्स्पो २०२६ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ। एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गर्न लागेका ब्रान्डदेखि बजारमा रहेका ब्रान्डका नयाँ पुस्ता, फेसलिफ्ट तथा अपडेटेड मोडलसम्म ४० भन्दा बढी नयाँ सवारीसाधन प्रदर्शन गरिने भएको छ।
आयोजकका अनुसार एक्स्पोमा दुई तथा चारपाङ्ग्रे गरी ५३ ब्रान्ड सहभागी छन्। सोमबार रातिसम्म भृकुटीमण्डपमा स्टल निर्माण तथा सवारीसाधन राख्ने काम भइरहेको थियो। आयोजकले गत संस्करणको तुलनामा यसपटक एक्स्पोलाई थप व्यवस्थित र प्रिमियम बनाउने तयारी गरेको जनाएको छ।
एक्स्पोमा सवारीसाधन प्रदर्शनसँगै नयाँ प्रविधिबारे जानकारी दिन लर्निङ सेसन समेत सञ्चालन गरिनेछ।
दर्जनौं नयाँ मोडल सार्वजनिक हुँदै
दोस्रो नाइमा मोबिलिटी एक्स्पोमा चारपाङ्ग्रे सवारीसाधनतर्फ नयाँ ब्रान्ड तथा मोडलको ठूलो उपस्थिति रहनेछ।
चेरीले क्यूक्यू ३ र आईकार भी२७, निसानले टेकटन, वुलिङले एक्सियन एसयूभी, मिनी ईभी, डारियन एमपीभी तथा फेसलिफ्ट बिंगो सार्वजनिक गर्ने तयारी गरेका छन्।
त्यस्तै, जीओ अटोमोबाइल्सले एमजी मेजेस्टर, महिन्द्राले एक्सईभी ९एस र हेनरी बोले ईभी एक्स्पोमा प्रदर्शन गर्ने भएका छन्।
बीएआईसीको हाइब्रिड बीजे३० तथा आर्कफक्स ब्रान्डले नाइमा एक्स्पोबाट नेपाली बजारमा प्रवेश गर्ने भएका छन्। हुन्डाईका अल न्यू भेन्यु र आयोनिक ९ ईभी, नयाँ केई इक्युट तथा क्यारीका दुई नयाँ मोडल पनि एक्स्पोमा देखिनेछन्।
टाटा मोटर्सले पन्च ईभी र टियागो ईभी फेसलिफ्ट प्रदर्शन गर्नेछ भने बीवाईडीले एटो १, एटो २ र एटो ३ का अपडेटेड संस्करण राख्नेछ।
टोयोटाले आरएभी४ हाइब्रिड इलेक्ट्रिक र हाइलक्स, जीडब्लूएमले ओरा ५, कियाले तीन नयाँ मोडल तथा म्याक्ससले तीन मोडल प्रदर्शन गर्नेछन्। त्यस्तै, हेनरी भोल्ट्सका तीन र लीपमोटरको बी०३एक्स पनि एक्स्पोमा देखिनेछ।
डोङफेङका नयाँ बस, स्काइवर्थ तथा किटोनका नयाँ मोडलसमेत एक्स्पोमा राखिने आयोजकले जनाएको छ।
दुईपाङ्ग्रे सेग्मेन्टमा बजाज चेतक इलेक्ट्रिकका दुई मोडल, टीभीएसका एनटर्क १५० र आरटीएक्स ३०० प्रदर्शन हुनेछन्।
कुजु नेपालले याडियाका जीएस७०, जीटी७० र जीटी८० तथा अल्ट्राभायोलेटले नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ। मोर्बिडेलीको टी२५० एक्स, केरेनका दुई तथा ग्यारोको एक नयाँ मोडलसमेत एक्स्पोमा राखिनेछ।
नेपालमा अटो शो अब नयाँ सवारीसाधन प्रदर्शन गर्ने थलोमा मात्र सीमित नरहेको व्यवसायीहरूको भनाइ छ। सवारीसाधनको बुकिङ तथा बिक्रीसँगै बैंक तथा वित्तीय संस्था, बीमा, स्पेयर पार्ट्स, सर्भिस सेन्टर, चार्जिङ पूर्वाधार, होटल तथा अन्य व्यवसायमा समेत यसको प्रभाव पर्ने भएकाले अटो शो आर्थिक गतिविधिको महत्वपूर्ण केन्द्र बन्दै गएको छ।
व्यवसायीहरूका अनुसार अटो शोमा करिब १५ देखि २० अर्ब रुपैयाँसम्मको कारोबार हुने अनुमान छ। वर्षभरि हुने कुल बिक्रीको करिब ३५ देखि ४० प्रतिशतसम्म कारोबार अटो शोको अवधिमा हुने दाबी व्यवसायीहरूको छ। अटो शोमा बुकिङ भएका करिब आधा सवारीसाधन बिक्री हुने अनुमानसमेत गरिएको छ।
सामान्यतः नयाँ आर्थिक वर्ष शुरू हुने साउन र भदौलाई आर्थिक गतिविधिका हिसाबले तुलनात्मक रूपमा सुस्त मानिन्छ। तर पछिल्लो समय यही अवधिमा लगातार दुई ठूला अटो शो आयोजना हुन थालेपछि अटोमोबाइल बजारमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ।
नाइमा मोबिलिटी एक्स्पोपछि भदौ ९ गतेदेखि नाडा अटो शो आयोजना हुँदैछ। एउटै बजारलाई लक्षित गरी छोटो अवधिमा हुने यी दुई ठूला प्रदर्शनीले साउन-भदौको बजारलाई चलायमान बनाउने व्यवसायीहरूको अपेक्षा छ।
अटो शोले उपभोक्तालाई नयाँ सवारीसाधनबारे जानकारी तथा खरिदका अवसर उपलब्ध गराउनुका साथै व्यवसायीबीच नयाँ मोडल ल्याउने प्रतिस्पर्धासमेत बढाएको छ। विशेषगरी दसैं-तिहारअघि नयाँ सवारीसाधन खरिद गर्ने उपभोक्ताको मागलाई लक्षित गर्दै व्यवसायीहरूले नयाँ मोडल सार्वजनिक गर्ने गरेका छन्।
अटो शोले सवारीसाधनको बिक्री मात्र नभई नेपालको अटोमोबाइल क्षेत्रको समग्र अवस्था र आगामी दिशासमेत संकेत गर्ने व्यवसायीहरूको बुझाइ छ। विशेषगरी विद्युतीय सवारीसाधनको विस्तार, नयाँ ब्रान्डको प्रवेश, उपभोक्ताको माग, बैंकिङ तथा वित्तीय सुविधा र सरकारी कर नीतिको प्रभाव अटो शोमा देखिनेछ।


