Nepal Purbadhar

अर्थमन्त्री वाग्लेले २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग आझ छलफल गर्ने


काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दैछन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत अर्थ मन्त्रालयले बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई छलफलका लागि बोलाएको हो। छलफल अर्थ मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे शुरू हुनेछ।

छलफलमा अर्थमन्त्री वाग्लेले बजेटले बहुराष्ट्रिय कम्पनीलाई दिएका सुविधा, उनीहरूले नेपालमा भोगिरहेका समस्या तथा लगानी विस्तारका विषयमा जानकारी लिनेछन्।

त्यस्तै, नेपालमा थप लगानी आकर्षित गर्न, रोजगारी सिर्जना गर्न तथा लगानीको प्रतिफल फिर्ता लैजाने प्रक्रियामा सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा कम्पनीका प्रतिनिधिलाई खुलेर आफ्ना धारणा राख्न आग्रह गरिनेछ। कम्पनीका प्रतिनिधिलाई लिखित रूपमा समेत समस्या तथा सुझाव पेश गर्न भनिएको छ।

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयले विभिन्न क्षेत्रका सरोकारवालासँग छलफल गर्दै आएको छ। यसै क्रममा अर्थमन्त्री वाग्लेले यसअघि नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी ठूलो संख्यामा रोजगारी सिर्जना गरेका तथा अर्थतन्त्रमा योगदान पुर्‍याएका ३३ औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गरिसकेका छन्।

यस्तै, उनले नेपालका ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग पनि बजेट कार्यान्वयन र अर्थतन्त्रका समसामयिक विषयमा छलफल गरिसकेका छन्।

बहुराष्ट्रिय कम्पनीसँगको छलफललाई सरकारले नेपालमा विदेशी लगानी विस्तार, लगानीको वातावरण सुधार तथा निजी क्षेत्रका समस्या समाधानका लागि आवश्यक नीतिगत सहजीकरण पहिचान गर्ने अवसरका रूपमा लिएको छ।


Read Previous

साउनको अन्तिम सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको ओइरो

Read Next

सुस्ता भूमि जोगाउन स्थानीय र सुरक्षाकर्मी जनश्रमदानमा अस्थायी तटबन्ध निर्माण हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar