
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १७३ सवारीसाधनलाई कारबाही गरेको छ। नियमित निगरानी, सिसिटिभीमार्फत अनुगमन तथा ट्राफिक चेकिङका क्रममा ती सवारीसाधनमाथि कारबाही गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार सबैभन्दा धेरै ८०४ सवारीसाधन अन्य विभिन्न ट्राफिक कसुरमा कारबाहीमा परेका छन्। त्यसैगरी सिसिटिभीमार्फत ट्राफिक नियम उल्लङ्घन गरेको पाइएका ८०, रेड लाइट उल्लङ्घन गर्ने ५५, लेन मिच्ने ४४, अनावश्यक रूपमा हर्न प्रयोग गर्ने ४१ तथा वनवे उल्लङ्घन गर्ने ३५ सवारीसाधनमाथि कारबाही गरिएको छ।
यस्तै, प्राविधिक अवस्था ठीक नभएका १८, तीव्र गतिमा सवारी चलाएका १० तथा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका छ चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्ले ले सडक अनुशासन कायम गर्न ट्राफिक प्रहरीले नियमित निगरानी, सिसिटिभीमार्फत अनुगमन तथा चेकिङलाई थप प्रभावकारी बनाएको बताए।
उनले सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तोकिएको लेन प्रयोग गर्न, रेड लाइट उल्लङ्घन नगर्न तथा सुरक्षित र जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न आग्रह गरेका छन्।
