
धनगढी। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रदेखि गेटामा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। विश्वविद्यालयले एमबीबीएससहित विभिन्न चिकित्सा शिक्षा कार्यक्रम पनि यही शैक्षिकसत्रदेखि सञ्चालन गर्ने तयारी गरिरहेको छ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीका अनुसार संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणबमोजिमका काम तीव्र गतिमा अघि बढिरहेका छन्। शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण खरिद, शैक्षिक जनशक्ति नियुक्ति तथा अन्य प्राविधिक तयारी करिब अन्तिम चरणमा पुगेको र एक महिनाभित्र अस्पताल सञ्चालनका लागि आवश्यक अधिकांश काम पूरा हुने उनले बताए। मन्त्रिपरिषद्ले यसै शैक्षिकसत्रदेखि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिइसकेको, आवश्यक बजेट व्यवस्थापन भइसकेको तथा सैद्धान्तिक र प्राविधिक प्रक्रिया पनि अगाडि बढिसकेको उनको भनाइ छ।
यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले कैलालीका सेती, लम्कीचुहा र टीकापुर तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको छ। उपकुलपति जोशीले प्रदेश सरकारको उक्त निर्णयको स्वागत गर्दै यसले विश्वविद्यालय र प्रादेशिक अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ अनुसार आवश्यकता अनुरूप संघ, प्रदेश र स्थानीय तहका अस्पतालसँग सहकार्य गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै उनले विद्यार्थीको प्रयोगात्मक अध्ययन, क्लिनिकल अभ्यास र समुदायस्तरको स्वास्थ्य सेवामा सहकार्यका लागि यो निर्णय महत्वपूर्ण हुने बताए।
उनले प्रादेशिक अस्पतालसँगको सहकार्यका कारण गेटामा निर्माण भइरहेको शिक्षण अस्पतालको शय्या विस्तारमा कुनै असर नपर्ने स्पष्ट पारे। कतिपयले प्रादेशिक अस्पतालका शय्या उपयोग गरिएपछि गेटाको अस्पताल विस्तार प्रभावित हुने आशंका व्यक्त गरे पनि त्यसमा कुनै सत्यता नरहेको उनको भनाइ छ। उनका अनुसार अन्य अस्पतालसँगको सहकार्य शिक्षण सिकाइको दायरा विस्तारका लागि मात्रै हो र विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल विकास गर्ने योजना यथावत् रहनेछ।
विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेले प्रदेश सरकारको निर्णयलाई सकारात्मक रूपमा लिइए पनि त्यसलाई आधार बनाएर गेटामा पूर्ण क्षमताको शिक्षण अस्पताल सञ्चालनको काम पछि धकेल्न नहुने बताए। उनले विश्वविद्यालयमा शिक्षण कार्यसँगै विशिष्टीकृत अस्पताल सञ्चालनलाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने धारणा राखे।
विश्वविद्यालयले यसै शैक्षिकसत्रदेखि ५० जना विद्यार्थीका लागि एमबीबीएस, ३० जनाका लागि बीएससी नर्सिङ, २० जनाका लागि बीएससी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) र २० जनाका लागि बी अप्टोमेट्री कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। त्यसका लागि चिकित्सा शिक्षा आयोगमा आवेदन बुझाइसकिएको, ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोत सुनिश्चित भइसकेको तथा आयोगको टोलीले आगामी भदौमा स्थलगत अध्ययन गरी आवश्यक निर्णय गर्ने तयारी रहेको विश्वविद्यालयले जनाएको छ।


