Nepal Purbadhar

बाढी र पहिरोले तीन सडक पूर्ण र छ सडक आंशिक रूपमा अवरुद्ध, कुन सडकको अवस्था कस्तो?


काठमाडौं। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा तीन वटा सडकखण्ड पूर्ण रूपमा र छ वटा सडकखण्ड आंशिक रूपमा अवरुद्ध भएका छन्।

सडक विभागका अनुसार वर्षाका कारण बाढी, पहिरो तथा सडक कटानले विभिन्न सडक प्रभावित भएका हुन्। यद्यपि पहिरोका कारण अवरुद्ध भएका २४ वटा सडकखण्ड भने सामान्य मर्मतपछि पुनः सञ्चालनमा ल्याइएको छ।

नेपाल प्रहरीका अनुसार पहिरो, नदी कटान, हिलो र सडक भासिने घटनाले विभिन्न राजमार्गमा आवागमन प्रभावित भएको छ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्ग अन्तर्गत धुलिखेल-सिन्धुली खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

त्यसैगरी, मकवानपुरको कान्ति लोकपथ मा पनि वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलो भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग पनि भोटेकोशी गाउँपालिका-४ अन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो, लेदो तथा सडक भासिँदा पूर्ण रूपमा बन्द रहेको छ।

यस्तै, दोलखाको लामोसाँघु-रामेछाप सडकखण्ड अन्तर्गत तामाकोशी गाउँपालिका-५ किर्नेटारमा तामाकोशी नदीले सडक कटान गरेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


Read Previous

युरोपमा टेक रोडशो गर्दै नास आईटी, नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने प्रयास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar