
काठमाडौं। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरूलाई युरोपेली बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल टेक रोडशो बेलायत तथा युरोप २०२६’ आयोजना गर्ने भएको छ।
भदौ २१ देखि असोज ५ गते (सेप्टेम्बर ६-२१) सम्म बेलायत र स्विट्जरल्यान्डमा आयोजना हुने रोडशोमार्फत नेपाली आईटी कम्पनीहरूलाई युरोपका व्यवसाय, नवप्रवर्तनशील कम्पनी (स्टार्टअप), लगानीकर्ता, नवप्रवर्तन केन्द्र (इनोभेसन हब) तथा गैरआवासीय नेपाली प्रविधि समुदायसँग जोड्दै नयाँ व्यावसायिक साझेदारी, प्रविधि सेवा निर्यात तथा लगानीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको नास आईटीले जनाएको छ।

कार्यक्रम स्विस सरकार विकास सहयोग (एसडीसी) तथा ‘नेपाल इन बिजनेस-ग्रोथ एडभाइजर्स’ कार्यक्रमको सहयोगमा आयोजना हुन लागेको हो। उक्त कार्यक्रम बेलायतको अन्तर्राष्ट्रिय विकास निकायको सहयोग तथा डीएआई ग्लोबल युके को कार्यान्वयनमा सञ्चालन भइरहेको छ।
काठमाडौंमा आयोजित सञ्चारकर्मी भेटघाट कार्यक्रममा रोडशोको औपचारिक घोषणा गरिएको थियो। कार्यक्रममा नास आईटीका पदाधिकारीहरूले नेपाली आईटी उद्योगको अन्तर्राष्ट्रिय विस्तारका सम्भावना र रोडशोका उद्देश्यबारे जानकारी दिएका थिए।
नास आईटीका अध्यक्ष गौरव पाण्डेले रोडशोले नेपाली आईटी उद्योगलाई युरोपेली बजारसँग प्रत्यक्ष जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताए।
“नेपाली आईटी कम्पनीहरूले आफ्नो क्षमता अन्तर्राष्ट्रिय बजारमा प्रमाणित गरिसकेका छन्। अब हामी युरोपका व्यवसाय, लगानीकर्ता र प्रविधि समुदायसँग प्रत्यक्ष सहकार्य विस्तार गर्न चाहन्छौँ। यो रोडशोले नेपाली कम्पनीहरूलाई नयाँ बजार, नयाँ साझेदार र दीर्घकालीन व्यावसायिक सम्बन्ध निर्माण गर्ने अवसर प्रदान गर्नेछ,” उनले भने।

रोडशोको पहिलो चरण सेप्टेम्बर ६ देखि १२ सम्म बेलायतमा सञ्चालन हुनेछ। यसको मुख्य कार्यक्रम सेप्टेम्बर ९ मा लन्डनस्थित रेडिसन ब्लु होटल, लन्डन हिथ्रो मा आयोजना हुनेछ। कार्यक्रममा नेपालको आईटी उद्योगको विकास, सम्भावना, नेपाली कम्पनीहरूको क्षमता, अन्तर्राष्ट्रिय अनुभव तथा व्यावसायिक सहकार्यका अवसरबारे प्रस्तुति र छलफल हुनेछ।
नास आईटीका १७ भन्दा बढी सदस्य कम्पनीहरूले आफ्ना सेवा, उत्पादन तथा प्रविधिमा आधारित समाधान अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नेछन्।
रोडशोको दोस्रो चरण सेप्टेम्बर १३ देखि २१ सम्म स्विट्जरल्यान्डमा आयोजना हुनेछ। यसको मुख्य कार्यक्रम सेप्टेम्बर १६ मा ज्युरिखस्थित होटल सेन्ट गोठार्ड मा हुनेछ। कार्यक्रममा सहभागी कम्पनीहरूले युरोपका व्यवसायी, सम्भावित साझेदार, नवप्रवर्तनशील कम्पनी, नवप्रवर्तन केन्द्र तथा अन्य सरोकारवालासँग व्यावसायिक भेटघाट, छलफल र सञ्जाल विस्तार (नेटवर्किङ) गर्नेछन्।

नास आईटीका अनुसार नेपालको आईटी उद्योग अहिले देशकै सबैभन्दा तीव्र गतिमा विकास भइरहेको क्षेत्रमध्ये एक हो। यस क्षेत्रमा एक लाखभन्दा बढी दक्ष जनशक्ति कार्यरत छन् भने विदेशी आम्दानी वार्षिक २० देखि २५ प्रतिशतसम्म बढिरहेको अनुमान छ।
संस्थाका अनुसार दक्ष जनशक्ति, अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर विकास क्षमता तथा प्रतिस्पर्धी सेवाका कारण नेपाल विश्वसनीय प्रविधि साझेदारका रूपमा स्थापित हुँदै गएको छ। यही सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा थप विस्तार गर्न रोडशो आयोजना गर्न लागिएको हो।
रोडशोमा १७ नेपाली प्रविधि कम्पनीहरूको सहभागिता रहनेछ। ती कम्पनीहरूले सफ्टवेयर विकास, डिजिटल समाधान, सूचना प्रविधि सेवा तथा नवीन प्रविधिमा नेपालको क्षमता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नेछन्। साथै, युरोपेली बजारमा नयाँ अवसर खोज्ने, प्रविधि सेवा निर्यात प्रवर्द्धन गर्ने तथा दीर्घकालीन व्यावसायिक साझेदारी विकास गर्ने लक्ष्य राखिएको नास आईटीले जनाएको छ।

