Nepal Purbadhar

एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन


काठमाडौं। नेपाल आयल निगमले एलपीजी ग्यासको आपूर्ति तथा वितरणमा देखिने समस्या तत्काल समाधान गर्न क्विक रेस्पोन्स टिम गठन गरेको छ। निगमका अनुसार उक्त टिमले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको छ।

उपभोक्ताको घरसम्म कुनै पनि अवस्थामा एलपीजी ग्यासको अभाव हुन नदिन उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधि सम्मिलित संयन्त्र गठन गरिएको निगमले जनाएको छ।

क्विक रेस्पोन्स टिममा उद्योग मन्त्रालयका तर्फबाट मङ्गल बिष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगका तर्फबाट आयुस नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्।

टिमको मुख्य जिम्मेवारी देशका जुनसुकै स्थानमा एलपीजी ग्यासको अभाव वा वितरणसम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नु रहेको निगमले जनाएको छ।

“जहाँबाट ग्यास अभाव वा वितरणमा समस्या भएको गुनासो आउँछ, त्यहाँ सम्बन्धित उद्योग, डिलर र व्यवसायीसँग तत्काल समन्वय गरेर उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइनेछ,” निगमले जनाएको छ।

निगमका अनुसार पछिल्लो समय विभिन्न स्थानबाट ग्यास नपाएको गुनासो बढेपछि समस्या तत्काल सम्बोधन गर्न यो संयन्त्र गठन गरिएको हो। कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गरी सकेसम्म तत्काल समाधान गर्ने गरी टिमले काम गर्नेछ।

ग्यास आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भए उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्। उक्त नम्बरमा प्राप्त हुने गुनासोका आधारमा क्विक रेस्पोन्स टिमले आवश्यक समन्वय गरी समाधान प्रक्रिया अघि बढाउने निगमले जनाएको छ।


Read Previous

इन्टरनेट सेवा प्रदायकको बक्यौता विवाद, कानुनअनुसार शुल्क जसरी पनि असुल गर्ने तयारी

Read Next

विदेशबाट फर्किंदा अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar