
काठमाडौं। नेपाल प्रहरीले विदेशबाट स्वदेश फर्कने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य कसैको प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ।
नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले मंगलबार विशेष अनुरोध जारी गर्दै पछिल्ला केही दिनयता दुबई, कतारलगायत मुलुकबाट फर्कने नेपालीलाई आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने प्रयास भएको जानकारी दिएको हो।
कार्यालयका अनुसार यस्ता गतिविधि प्रचलित कानुनविपरीत हुन् र यस्ता घटनामा संलग्न व्यक्तिमाथि अनुसन्धान तथा कानुनी कारबाही भइरहेको छ।
“अपरिचित व्यक्ति वा दलालको प्रलोभनमा परी सुन, बहुमूल्य धातु वा अन्य सामान नेपाल नल्याउनुहोस्। अवैध ओसारपसारमा संलग्न पाइए कानुनअनुसार कारबाही हुनेछ,” विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
प्रहरीले विदेशबाट फर्कने यात्रुलाई आफ्ना झोला तथा सामानमा रहेका सबै वस्तुबारे जानकारी राख्न, खरिद बिल तथा आवश्यक कागजात सुरक्षित राख्न र भन्सारसम्बन्धी प्रचलित कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ।
त्यसैगरी कुनै पनि दलाल वा अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न तथा विमानस्थलमा शंकास्पद गतिविधि वा सुरक्षा जोखिम देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ।
प्रहरीका अनुसार पछिल्लो समय विदेशबाट फर्कने यात्रुलाई प्रयोग गरी सुन तथा बहुमूल्य वस्तुको अवैध ओसारपसार गराउने प्रयास बढ्दै गएको देखिएकाले यात्रुहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको हो।

