
फाइल तस्बीर।
जनकपुरधाम। मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ। यस खण्डमा २४ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने ९० प्रतिशतभन्दा बढी सडक कालोपत्र गरिएको छ।
हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिरहादेखि सर्लाहीसम्मको कुल ४०६.४३ किलोमिटर सडकमध्ये ३४७.६३ किलोमिटरमा कालोपत्र सम्पन्न भएको छ।
निर्देशनालयका कार्यालय प्रमुख कृष्णकुमार महतोका अनुसार चालु आर्थिक वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ।
हाल धनुषामा तीन, सर्लाहीमा सात, महोत्तरीमा तीन र सिरहामा तीन गरी १९ वटा पुल निर्माण अन्तिम चरणमा पुगेका छन्।
यस्तै, कालोपत्र गर्न बाँकी रहेको ५८.८ किलोमिटर सडकमध्ये १२.८ किलोमिटर सडकको ठेक्का प्रक्रिया प्रारम्भ भइसकेको निर्देशनालयले जनाएको छ।
जिल्लागत रूपमा हेर्दा सिरहामा २९.९८ किलोमिटर, महोत्तरीमा ९१.५६ किलोमिटर र सर्लाहीमा १५१.५१ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ।
निर्माण कार्य पूरा भएपछि पूर्व–पश्चिम हुलाकी राजमार्गको कुल लम्बाइ १ हजार ७९२ किलोमिटर पुग्नेछ। यसले तराई–मधेस क्षेत्रको यातायात सञ्जाल, आर्थिक गतिविधि तथा क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
