
काँकडभिट्टा। काँकडभिट्टा नाकाबाट गत आर्थिक वर्ष २०८२/८३ मा २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। उक्त अवधिमा पेट्रोल, डिजेल र लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ भित्रिएको हो।
काँकडभिट्टा भन्सार कार्यालयका अनुसार सबैभन्दा धेरै १२ अर्ब १८ करोड ७ लाख ६४ हजार रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ। त्यस्तै, ९ अर्ब ५५ करोड ४९ लाख ७ हजार रुपैयाँ बराबरको डिजेल र २ अर्ब ७७ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको एलपिजी आयात गरिएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने यस नाकाबाट ८ अर्ब ९२ करोड ८५ लाख २६ हजार रुपैयाँ बराबरको पेट्रोल र ७ अर्ब ३ करोड ३२ लाख १९ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको थियो। यस आधारमा गत आर्थिक वर्षमा पेट्रोल र डिजेल दुवैको आयात मूल्य उल्लेखनीय रूपमा बढेको देखिएको छ।
काँकडभिट्टा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलियम पदार्थको आयातबाट सरकारले उल्लेखनीय राजस्व पनि संकलन गरेको छ। उनका अनुसार गत आर्थिक वर्षमा पेट्रोलबाट ५ अर्ब ८५ करोड ३७ लाख ५० हजार रुपैयाँ र डिजेलबाट २ अर्ब ९३ करोड २२ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
काँकडभिट्टा नाका पूर्वी नेपालको प्रमुख व्यापारिक प्रवेशद्वारमध्ये एक हो। भारतसँगको व्यापारमा महत्त्वपूर्ण भूमिका खेल्ने यस नाकाबाट पेट्रोलियम पदार्थसहित विभिन्न औद्योगिक कच्चा पदार्थ, उपभोग्य वस्तु तथा दैनिक आवश्यक सामग्री आयात हुँदै आएका छन्।

