
काठमाडौं। नेपाली सेनाले हालसम्म जटिल भौगोलिक बनावट भएका ३२ वटा सडक आयोजना सम्पन्न गर्दै कुल १ हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको जनाएको छ। सेनाले निर्माण सम्पन्न गरेका आयोजनामा कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट-डोल्पा सडक, बेँसीसहर-चामे सडक, कालीगण्डकी करिडोर र कर्णाली करिडोरलगायतका महत्वपूर्ण सडक आयोजना रहेका छन्।
सरकारले दुर्गम तथा कठिन भूगोल भएका क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने उद्देश्यले चट्टानयुक्त भिर, जटिल भूबनोट र चुनौतीपूर्ण सडकखण्डको निर्माण जिम्मेवारी नेपाली सेनालाई दिँदै आएको छ।
सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार सीमित स्रोतसाधन, प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बाबजुद सेनाले राष्ट्रिय गौरव तथा प्राथमिकताका सडक आयोजना सफलतापूर्वक कार्यान्वयन गर्दै वार्षिक लक्ष्य शतप्रतिशत पूरा गरेको छ।
खाँदबारी-किमाथाङ्का सडक हस्तान्तरण
पूर्वी नेपालको रणनीतिक महत्वको खाँदबारी-किमाथाङ्का (च्याम्ताङ्ग-घोङ्घप्पा) सडक आयोजनाअन्तर्गत सेनाले १०.५१ किलोमिटर सडक निर्माण सम्पन्न गरी गत वैशाख २८ गते सडक विभागलाई हस्तान्तरण गरेको छ। सेनाका अनुसार यस सडकले किमाथाङ्का क्षेत्रको विकास र भविष्यमा व्यापारिक गतिविधि विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तीन महत्वपूर्ण सडक आयोजना निर्माणाधीन
हाल नेपाली सेनाले मुख्य रूपमा कर्णाली करिडोर, दार्चुला-टिङ्कर सडक र बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक निर्माण गरिरहेको छ।
महाकाली करिडोरअन्तर्गत दार्चुला-टिङ्कर (तुषारपानी-टिङ्कर) सडक आयोजनामा ७९ किलोमिटर सडक निर्माणको जिम्मेवारी सेनाले लिएको छ। अत्यन्त कठिन हिमाली भूभाग र प्रतिकूल मौसमका बीच आर्थिक वर्ष २०८२/८३ मा १९.८० किलोमिटर सडक निर्माण गर्दै वार्षिक लक्ष्य पूरा गरिएको छ। हालसम्म आयोजनाको भौतिक प्रगति २५.०६ प्रतिशत पुगेको छ।
यस्तै, बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक आयोजनाअन्तर्गत मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने ९२ किलोमिटरमध्ये हावाडाँडा-दोभान (१८ किलोमिटर) सडक निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिएको छ। आर्थिक वर्ष २०८२/८३ सम्म आयोजनाको ४०.८ किलोमिटर अर्थात् ४४.३५ प्रतिशत भौतिक प्रगति हासिल भएको सेनाले जनाएको छ।
कर्णाली करिडोरमा ८६ प्रतिशतभन्दा बढी प्रगति
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कर्णाली करिडोर सेनाले निर्माण गरिरहेको प्रमुख आयोजना हो। हुम्लाको हिल्सादेखि बाँकेको जमुनाहासम्म फैलिएको ६८२ किलोमिटर लामो करिडोरअन्तर्गत लालीबगर-दुल्लिकुन्ना तथा घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खण्डमा सेनाले सडक निर्माण गरिरहेको छ।
लालीबगर-दुल्लिकुन्ना खण्डको ट्र्याक निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकिएको छ भने घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खण्डमा निर्माण कार्य जारी छ। आर्थिक वर्ष २०८२/८३ सम्म १९ किलोमिटर सडक निर्माण गर्दै वार्षिक लक्ष्य पूरा गरिएको छ। समग्र आयोजनाको भौतिक प्रगति ८६.१७ प्रतिशत पुगेको छ।
यसै क्रममा हुम्लाको हिल्सा-सिमकोट सडकखण्डअन्तर्गत खार्पुनाथ गाउँपालिका-५ स्थित चुवाखोलामा गत असार २२ गते बेलिब्रिज जडान गरिएको थियो। यसले हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्दै आर्थिक तथा सामरिक महत्व थप सुदृढ बनाउने अपेक्षा गरिएको सेनाले जनाएको छ।
दुर्गम क्षेत्रको विकास र राष्ट्रिय सुरक्षामा योगदान
नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारीअनुसार दुर्गम तथा रणनीतिक महत्वका क्षेत्रमा नयाँ ट्र्याक खोल्ने, सडक स्तरोन्नति गर्ने, आवश्यक पूर्वाधार निर्माण गर्ने तथा सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने कार्य गरिरहेको जनाएको छ।
सेनाका अनुसार यस्ता सडक आयोजनाले दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुका साथै व्यापार, पर्यटन, विपद् व्यवस्थापन, स्थानीय आर्थिक गतिविधि र राष्ट्रिय सुरक्षालाई दीर्घकालीन रूपमा मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। सीमित स्रोतसाधनका बाबजुद कठिन भूभागमा विकास निर्माणको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै राष्ट्रले दिएको दायित्व निर्वाह गरिरहेको सेनाको भनाइ छ।
