
सिराहा। सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको शव शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत उनको गाउँ पुर्याइएको छ।

औरही गाउँपालिका-२ तुलसियाही निवासी गणेशको शव पोस्टमार्टमपछि साँझ करिब ६ः३० बजे हेलिकप्टरमार्फत गाउँ ल्याइएको हो। हेलिकप्टरबाट झारेपछि शवलाई एम्बुलेन्समार्फत परिवारको घर लगिएको थियो।

घरमा हिन्दू परम्पराअनुसार दाहसंस्कारपूर्वका धार्मिक विधि पूरा गरेपछि गागन खोलाको किनारमा आजै अन्त्येष्टि गर्ने तयारी गरिएको छ। शव गाउँ पुगेपछि परिवार, आफन्त तथा स्थानीयवासीले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

बिहीबार गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै शुक्रबार राति गृहमन्त्री सुदन गुरुङ मृतकको घर पुगेर परिवारसँग आठबुँदे सहमति गरेका थिए।

सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने, परिवारका एक योग्य सदस्यलाई रोजगारी प्रदान गर्ने तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

