Nepal Purbadhar

बाढी-पहिरोले राजमार्ग प्रभावित, बीपी राजमार्गसहित प्रमुख सडकमा राति सवारी सञ्चालन रोक


काठमाडौं। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमलाई ध्यानमा राख्दै केही राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमका कारण काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा अर्को सूचना जारी नभएसम्म हरेक दिन बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ।

त्यस्तै, कान्ति लोकपथ मा पनि हरेक दिन अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग मा सडक हिलो भएपछि सवारी आवागमन बन्द भएको प्रहरीले जनाएको छ।

यता, अर्घाखाँचीको पाणिनि गाउँपालिका-२ ढुङ्गेखोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी-ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलो तथा वडा नं. २ कोदारी क्षेत्रमा पहिरोसँगै लेदो, ढुङ्गा र माटो खसेपछि अरनिको राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ।

त्यसैगरी, बागलुङको जैमिनी नगरपालिका-८ बेलबगर क्षेत्रमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।

यसैबीच, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ घुमाउने, वडा नं. ८ गिम्दी तथा वडा नं. ९ बिरुवाडाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेपछि बीपी राजमार्ग को केही खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा पहिरो र बाढीको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा सम्बन्धित निकायको सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


Read Previous

मनसुन सक्रिय, आज विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना

Read Next

विद्युत् खपत बढाउन ८० अर्बको पूर्वाधार विस्तार, १० वर्षमा प्रतिव्यक्ति खपत तीन गुणा पुर्‍याउने लक्ष्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar