Nepal Purbadhar

मनसुन सक्रिय, आज विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना


काठमाडौं। देशभर मनसुनको प्रभाव बढेसँगै आज विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने र केही क्षेत्रमा धेरै भारी वर्षा हुन सक्ने जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई आसपास तथा पूर्वमा सरदर स्थानकै आसपास रहेको छ। अहिले देशभर बदली रहेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, बागमती र गण्डकी प्रदेशका एकाध स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

रातिको समयमा पनि मनसुन सक्रिय रहने अनुमान गरिएको छ। कोशी र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी क्षेत्र तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराईका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा मधेस र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्छ। कोशी र सुदूरपश्चिमका केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लगातारको वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी कटानको जोखिम बढ्न सक्ने भन्दै नदी तथा खोलानाला आसपास, पहिरो जोखिमयुक्त क्षेत्र र डुबान हुने स्थानमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


Read Previous

भारतको पहिलो निजी अर्बिटल रकेट सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ इतिहास

Read Next

बाढी-पहिरोले राजमार्ग प्रभावित, बीपी राजमार्गसहित प्रमुख सडकमा राति सवारी सञ्चालन रोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar