
Screenshot
काठमाडौं। भारतले अन्तरिक्ष क्षेत्रमा अर्को ऐतिहासिक उपलब्धि हासिल गर्दै पहिलो पटक निजी क्षेत्रद्वारा विकसित अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ। स्काईरुट एरोस्पेसले निर्माण गरेको ‘विक्रम-१’ रकेटले शनिबार श्रीहरिकोटास्थित सतिश धावन स्पेस सेन्टरबाट आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको हो।
यो सफलतासँगै भारत निजी अन्तरिक्ष उद्योगलाई विश्वव्यापी प्रतिस्पर्धामा अघि बढाउने दिशामा महत्वपूर्ण कदम चाल्न सफल भएको विश्लेषण गरिएको छ।
स्काईरुट एरोस्पेसले सामाजिक सञ्जाल एक्समार्फत “हेलो स्पेस, हामी आइपुग्यौँ!” भन्दै विक्रम-१ को पहिलो परीक्षण उडानले आफ्नो सम्पूर्ण अभियान सफलतापूर्वक पूरा गरेको जनाएको छ। कम्पनीले यसलाई भारतीय निजी क्षेत्रबाट भएको पहिलो सफल अर्बिटल प्रक्षेपणका रूपमा वर्णन गरेको छ।
करिब सात तले भवन बराबर उचाइ रहेको विक्रम-१ रकेटले ३५० किलोग्रामसम्म पेलोड बोक्न सक्ने क्षमता राख्छ। यसलाई पृथ्वीको सतहबाट करिब दुई हजार किलोमिटर टाढाको तल्लो पृथ्वी कक्ष (लो अर्थ अर्बिट) मा साना उपग्रह पुर्याउने उद्देश्यका साथ विकास गरिएको हो।
रकेटले यस उडानमा प्रयोगशालामा उत्पादित हीरा, अन्तरिक्षमा रहेका फोहोर हटाउन सक्ने रोबोटिक उपकरण तथा १८ क्यारेटको सानो सुनको रकेट पनि बोकेको थियो। उक्त सुनको रकेटमा भारतीय अन्तरिक्ष कार्यक्रमका प्रमुख व्यक्तित्वहरू विक्रम साराभाई, सी.भी. रामन र पूर्वराष्ट्रपति तथा वैज्ञानिक एपीजे अब्दुल कलामका साना मूर्तिहरू राखिएका थिए।
इन्डियन नेशनल स्पेस प्रमोशन एन्ड अथोराइजेसन सेन्टर (इन-स्पेस) का अध्यक्ष पवन गोएन्काले यो उपलब्धि अपेक्षाभन्दा उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस सफलतालाई “भारतको अन्तरिक्ष यात्राको ऐतिहासिक क्षण” भन्दै निजी क्षेत्रको बढ्दो सहभागिताले अन्तरिक्ष क्षेत्रमा नयाँ अवसर र नवप्रवर्तनलाई गति दिएको बताएका छन्।
उनले यो उपलब्धिले युवा पुस्तालाई ठूलो सपना देख्न र विज्ञान तथा प्रविधिमा नयाँ आविष्कार गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
भारतको अन्तरिक्ष कार्यक्रम दशकौँदेखि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को नेतृत्वमा अघि बढिरहेको छ। सन् २०२० मा अन्तरिक्ष क्षेत्र निजी कम्पनीका लागि खुला गरिएपछि यस क्षेत्रमा तीव्र विस्तार भएको छ। हाल भारतमा ४०० भन्दा बढी निजी अन्तरिक्ष स्टार्टअप तथा उद्यम सक्रिय रहेका छन् भने देशको अन्तरिक्ष अर्थतन्त्र करिब ८.४ अर्ब अमेरिकी डलर पुगेको छ।
विदेशमन्त्री एस. जयशंकरले पनि सफल प्रक्षेपणलाई भारतको अन्तरिक्ष महत्वाकांक्षा नयाँ उचाइमा पुगेको संकेत भएको बताएका छन्।
इसरोका पूर्वअध्यक्ष के. शिवनले निजी क्षेत्रका लागि अन्तरिक्ष क्षेत्र खुला गर्ने निर्णयको सकारात्मक परिणाम अहिले देखिन थालेको उल्लेख गर्दै विक्रम-१ को सफलताले भारतको विश्वव्यापी प्रतिष्ठा अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
भारतले सन् २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुव नजिक सफलतापूर्वक चन्द्रयान-३ अवतरण गराएर विश्वको चौथो देश बन्न सफल भएको थियो। अब निजी क्षेत्रको यो सफलता भारतको अन्तरिक्ष उद्योगलाई नयाँ चरणमा पुर्याउने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
