Nepal Purbadhar

अवैध जुत्ता आयात रोक्न प्रधानमन्त्री सकारात्मक, स्वदेशी उद्योगलाई संरक्षण मिल्नेमा आशावादी छौं: राणा


काठमाडौं । नेपाली जुत्ता उद्योगलाई संरक्षण, अवैध आयात नियन्त्रण र स्वदेशी उत्पादन प्रवर्द्धनका विषयमा प्रधानमन्त्रीसँग भएको छलफल सकारात्मक रहेको भन्दै जुत्ता उद्योगीहरूले सरकारबाट प्रभावकारी कदम चालिनेमा आशा व्यक्त गरेका छन्।

प्रधानमन्त्रीसँग जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिहरूको विशेष छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उद्यमी तथा सांसद विदुषी राणाले वर्षौंदेखि उठाउँदै आएका समस्याको पहिलो पटक गम्भीर सुनुवाइ भएको बताइन्।

उनले विभिन्न सरकारी निकायबीच समन्वयको अभावका कारण अवैध आयात नियन्त्रण प्रभावकारी हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीकै उपस्थितिमा सम्बन्धित सबै निकाय एकै ठाउँमा बसेर छलफल हुनु सकारात्मक भएको बताइन्।

“यति वर्षदेखि हामीले दुःख गर्दा पनि हाम्रो कुरा सुनिएको थिएन। तर आज सबै सम्बन्धित निकाय एउटै ठाउँमा बसेपछि एकले अर्कोलाई दोष दिने अवस्था रहेन,” उनले भनिन्।

राणाका अनुसार प्रधानमन्त्रीको मुख्य चासो नेपालभित्रको उत्पादनलाई कसरी प्रवर्द्धन गर्ने भन्ने विषयमा केन्द्रित थियो। छलफलका क्रममा उद्योगीहरूले आफ्ना समस्या राखेका थिए भने प्रधानमन्त्रीले विभिन्न विषयमा प्रश्न गर्दै समाधानका उपायबारे पनि चासो व्यक्त गरेका थिए।

उनले नेपालमा कृषि क्षेत्रपछि सबैभन्दा धेरै रोजगारी दिने क्षेत्रमध्ये जुत्ता उद्योग पनि एक रहेको बताइन्। उनका अनुसार जुत्ता उद्योगले प्रत्यक्ष रूपमा ५० हजारभन्दा बढीलाई रोजगारी दिएको छ भने अप्रत्यक्ष रूपमा अझ धेरै परिवारको जीविकोपार्जन यस क्षेत्रसँग जोडिएको छ।

राणाले नेपाली जुत्ता उद्योग अहिले अधिकांश घरेलु माग पूरा गर्न सक्षम रहेको दाबी गर्दै आवश्यक क्षमता विस्तार गरे वार्षिक माग नेपालमै उत्पादन गर्न सकिने बताइन्।

“हामीले गरेको अध्ययनअनुसार नेपालीले वार्षिक औसत तीन जोर जुत्ता वा चप्पल खरिद गर्छन्। उद्योगको क्षमता केही बढाउने हो भने देशभित्रकै माग स्वदेशी उत्पादनबाट पूरा गर्न सक्छौं,” उनले भनिन्।

उनले आफूहरूको विरोध विदेशी जुत्ताको आयातसँग नभई अवैध आयात र राजस्व छलिसँग रहेको स्पष्ट पारिन्। खुला बजार अर्थतन्त्रमा विदेशी उत्पादन आउनु स्वाभाविक भए पनि सबै आयातित वस्तुले कानुनअनुसार कर, भन्सार र मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने उनको भनाइ थियो।

“२० हजार वा २५ हजार रुपैयाँका जुत्ता पनि आयात गर्नुस्, तर कर तिर्नुस्। राजस्व छल्ने काम बन्द हुनुपर्छ,” उनले भनिन्।

प्रधानमन्त्रीले पनि स्वदेशी उद्योगको संरक्षण, घरेलु उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै राणाले अवैध तथा अनधिकृत व्यापार नियन्त्रणमा सरकारले अब प्रभावकारी कदम चाल्नेमा आफू आशावादी रहेको बताइन्।

उनले स्वदेशमै आत्मनिर्भर भइसकेका उद्योगलाई आवश्यक संरक्षण प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यस विषयमा पनि प्रधानमन्त्रीसँग सकारात्मक छलफल भएको जानकारी दिइन्।


Read Previous

मिटरब्याज पीडित र सरकारबीच वार्ता अन्तिम चरणमा, आजै सम्झौता गर्ने तयारी

Read Next

जुत्ता-चप्पल उद्योगीलाई प्रधानमन्त्रीको आश्वासन: ‘स्वदेशी उद्योग संरक्षण गर्न सरकार प्रतिबद्ध छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar