
मीटर ब्याज पीडितसंग गृहमन्त्री सुधन गुरूङ।
काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। सिमरामा भएको मौखिक सहमतिलाई लिखित सम्झौतामा रूपान्तरण गर्दै औपचारिकता दिने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अन्तिम चरणको निर्णायक वार्ता जारी छ।
सरकारी र पीडित पक्षबीच बिहीबार पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लामो छलफल भएको थियो। सोही छलफलमा भएको सहमतिलाई आधार बनाएर आज अन्तिम सम्झौता गर्ने तयारी गरिएको हो।
सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्य रहेका छन्।
पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरिरहनुभएको छ। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी सदस्य छन्।
सरकार र मिटरब्याज पीडितबीच सहमति जुटे आन्दोलनको निकास खुल्ने अपेक्षा गरिएको छ।
