
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एफसीए (FCA) भोजन अर्याललाई राजस्व क्षेत्र हेर्ने अवैतनिक सल्लाहकारमा नियुक्त गरेका छन्।
सोमबार मन्त्रीस्तरीय निर्णयमार्फत अर्याललाई राजस्व सल्लाहकार नियुक्त गरिएको हो। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले उनलाई नियुक्तिपत्र हस्तान्तरण गरे।
नवनियुक्त सल्लाहकार अर्याललाई निर्देशन दिँदै अर्थमन्त्री वाग्लेले सरकारले लिएको १६ खर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न उनको विज्ञता, दक्षता र अनुभवबाट प्रभावकारी सुझाव तथा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
जवाफमा अर्यालले सरकार र अर्थमन्त्रीले गरेको विश्वासलाई आफ्नो अनुभव र व्यावसायिक दक्षतामार्फत नतिजामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्याङ्जा स्थायी घर भएका अर्याल विगत १५ वर्षदेखि लेखापरीक्षण तथा वित्तीय परामर्श क्षेत्रमा सक्रिय छन्। उनको नियुक्ति अवैतनिक रहने अर्थ मन्त्रालयले जनाएको छ।
