Nepal Purbadhar

जावलाखेलमा ‘स्मार्ट सेफ्टी ब्यारेड’ सञ्चालनमा, पैदलयात्री दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य


काठमाडौं। ललितपुर महानगरपालिकाले पैदलयात्रीको सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले जावलाखेलमा ‘स्मार्ट सेफ्टी ब्यारेड’ सञ्चालनमा ल्याएको छ। नेपालमै पहिलोपटक प्रयोगात्मक रूपमा जडान गरिएको यो प्रविधिले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्दै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ललितपुर महानगरपालिका नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुका अनुसार स्मार्ट सेफ्टी ब्यारेड ट्राफिक बत्तीसँग समन्वय गरेर सञ्चालन हुन्छ। हरियो बत्ती बल्दा ब्यारेड स्वतः खुल्ने र रातो बत्ती बल्दा स्वतः बन्द हुने व्यवस्था गरिएको छ। यसले पैदलयात्रीलाई तोकिएको समयमा मात्रै जेब्रा क्रसिङ प्रयोग गर्न प्रोत्साहित गर्ने र रातो बत्तीमा सडक काट्ने प्रवृत्ति नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

ब्यारेडमा जडान गरिएको सेन्सर प्रणालीका कारण पैदलयात्री सडकको बीचमा रहेका बेला ब्यारेड बन्द नहुने व्यवस्था गरिएको छ। यसले सडक पार गरिरहेका व्यक्तिलाई सुरक्षित रूपमा आवतजावत गर्न सहयोग पुग्ने र सम्भावित दुर्घटनाको जोखिम कम हुने महानगरले जनाएको छ।

महानगरपालिकाले जेब्रा क्रसिङबाहेक अन्य स्थानबाट सडक पार गर्ने प्रवृत्ति नियन्त्रण गर्न सडकका दायाँ–बायाँ गमला राख्ने तयारीसमेत गरेको छ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्राफिक नियमको बेवास्ता तथा जेब्रा क्रसिङको उचित प्रयोग नहुँदा विगतमा पैदलयात्री दुर्घटनाका घटना बढेको उल्लेख गर्दै स्मार्ट सेफ्टी ब्यारेडले पैदलयात्री र सवारी चालक दुवैका लागि सुरक्षित र व्यवस्थित सडक वातावरण निर्माण गर्ने बताए।

हाल जावलाखेलका दुई स्थानमा परीक्षणका रूपमा स्मार्ट सेफ्टी ब्यारेड जडान गरिएको छ। परीक्षण सफल भए ललितपुर महानगरभित्र ट्राफिक लाइट रहेका सबै चोकमा यस प्रविधिलाई क्रमिक रूपमा विस्तार गर्ने योजना रहेको महानगरले जनाएको छ।


Read Previous

अर्थमन्त्री वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar