
काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीले गति लिएको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित आगामी दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले सोमबार उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन उद्योगमन्त्री गौरीकुमारी यादवलाई बुझाएको छ। मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले हालसम्मको प्रगति, आवश्यक तयारी र आगामी कार्ययोजनासहितको प्रतिवेदन पेस गरेको हो।
मन्त्रालयका अनुसार परीक्षण उत्पादनका लागि आवश्यक तयारी सुरु भइसकेको छ। अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाले उद्योगमा रहेका मेसिनको मर्मत तथा परीक्षण उत्पादनको तयारी अघि बढाइसकेको छ।
सरकारको निर्देशनअनुसार नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ। त्यसअनुसार उद्योगभित्र सरसफाइ, मेसिन मर्मत र आवश्यक कच्चा पदार्थ खरिदलगायतका काम तीव्र रूपमा भइरहेको मन्त्रालयले जनाएको छ।
उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयलाई ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ। उक्त रकम परीक्षण उत्पादनका लागि आवश्यक प्रारम्भिक कार्यमा खर्च गरिनेछ।
यसैगरी उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयले ५० लाख रुपैयाँ लागत अनुमानका आधारमा भवन तथा अन्य संरचनाको मर्मतको जिम्मेवारी लिएको छ। उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम भने हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गरिरहेको छ। मन्त्रालयका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् मर्मत कार्य सम्पन्न भइसकेको छ।
सरकारले प्रारम्भिक चरणमा उद्योगमा रहेका पुराना मेसिन मर्मत गरेर परीक्षण उत्पादन गर्ने र त्यसको नतिजाका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी उद्योगलाई पूर्ण क्षमतामा दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजना बनाएको छ।
प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राष्ट्रिय गौरवसँग जोडिएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन सरकारको उच्च प्राथमिकतामा रहेको बताइन्। उनले कार्यदलका सुझावका आधारमा निर्धारित समयमै परीक्षण उत्पादन सुरु गर्न आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
