Nepal Purbadhar

लगातार वर्षापछि कान्ति लोकपथ अस्थायी रूपमा बन्द, एक दिन सवारी सञ्चालन रोक

फाइल तस्बीर


काठमाडौं । लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरका अनुसार मंगलबार बिहान ५ बजेदेखि बुधबार बिहान ६ बजेसम्म मकवानपुर जिल्लासँगको समन्वयमा कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सार्वजनिक, निजी तथा यात्रुवाहक सबै सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोकिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालका अनुसार कान्ति लोकपथको अधिकांश सडक खण्ड अत्यन्त जोखिमयुक्त रहेकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो।

प्रशासनले मनसुनका कारण हुन सक्ने सम्भावित विपद्बाट मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै अत्यावश्यक कामबाहेक यात्रा नगर्न र मौसम तथा सडक अवस्थासम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरेको छ।

कुनै विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, ललितपुरको निःशुल्क नम्बर १२३४, सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय वा स्थानीय प्रशासनमा तत्काल जानकारी गराउन प्रशासनले आग्रह गरेको छ।


Read Previous

धरान विद्युत् कार्यालयको गाडी दुर्घटना: चालकसहित दुईको मृत्यु, एक कर्मचारी घाइते

Read Next

दुई महिनाभित्र हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु गर्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar