Nepal Purbadhar

पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति पनि रोक्का हुने


काठमाडौं। उचित कारणबिना पेट्रोलपम्प बन्द गरी इन्धन अभावको अवस्था सिर्जना गर्ने व्यवसायीलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था नेपाल आयल निगमले गरेको छ।

निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै पेट्रोलियम पदार्थको आपूर्ति अवरुद्ध गर्ने व्यवसायीलाई जरिवानासहित इन्धन आपूर्ति रोक्का गर्न सकिने व्यवस्था लागू गरेको हो।

मंगलबार पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै निगमका डिपोबाट इन्धन नउठाएपछि बुधबार देशका विभिन्न स्थानमा पेट्रोल र डिजेलको आपूर्ति प्रभावित भएको थियो। त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले यस्तो अवस्था दोहोरिन नदिन आवश्यक कानुनी व्यवस्था गर्न निगमलाई निर्देशन दिएका थिए।

मन्त्रीको निर्देशनपछि बसेको निगम सञ्चालक समितिको बैठकले विनियमावलीको दफा २९(घ)(१) मा बिक्रेताले नोजल ‘ड्राई’ गरी पेट्रोलियम पदार्थ उपलब्ध नभएको अवस्था सिर्जना गर्न नहुने व्यवस्था थपेको छ।

संशोधित व्यवस्थाअनुसार पहिलो पटक उल्लङ्घन गर्ने बिक्रेतालाई तीन लाख रुपैयाँ जरिवाना गरी पाँच दिनसम्म निगमबाट इन्धन आपूर्ति रोक्का गरिनेछ। दोस्रो पटक उल्लङ्घन गरेमा छ लाख रुपैयाँ जरिवानासहित १० दिन आपूर्ति बन्द गरिनेछ भने तेस्रो पटक उल्लङ्घन दोहोरिए १० लाख रुपैयाँ जरिवाना गरी १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिने व्यवस्था गरिएको छ।

निगमका अनुसार नयाँ व्यवस्थापछि उचित कारणबिना पेट्रोलपम्प बन्द गरेर कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि कारबाही गर्न स्पष्ट कानुनी आधार बनेको छ।


Read Previous

कर्णालीमा खसेको गाडीको खोजी पुनः सुरु, गोताखोर परिचालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar