Nepal Purbadhar

कर्णालीमा खसेको गाडीको खोजी पुनः सुरु, गोताखोर परिचालन


कर्णाली। दैलेखमा कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बलका गोताखोरले आज बिहानदेखि पुनः खोजी थालेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर बिहान ८ बजेदेखि घटनास्थलमा परिचालन भएका हुन्।

सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान करिब ११:३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ साङ्गेतडामा दुर्घटनाग्रस्त भएर करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले बिहीबार करिब पाँच घण्टा खोजी गर्दा पनि गाडी फेला नपरेपछि आज पुनः खोजी अभियान सञ्चालन गरिएको जानकारी दिए।

उनका अनुसार नदीको जलसतह बढेको, बहाव तीव्र भएको र पानी धमिलो भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको छ। घटनास्थलमा सिधै पुग्ने बाटो नभएकाले अछामतर्फबाट टोली परिचालन गरिएको उनले बताए।

सापकोटाका अनुसार दुर्घटनापछि भिरमा अचेत अवस्थामा फेला परेका एक पुरुषको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। मृतकको पहिचान अझै खुल्न सकेको छैन।

खोजी अभियानमा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन भएका छन्।

प्रहरीका अनुसार गाडी सुर्खेत बसपार्कबाट छुट्दा तीन जना यात्रु थिए भने दैलेखको डुङ्गेश्वरबाट थप दुई जना चढेका थिए। चालक र सहचालकसहित हालसम्म गाडीमा सात जना सवार रहेको आधिकारिक विवरण प्रहरीले दिएको छ।


Read Previous

निर्माण सुरु भयो १०६ मेगावाटको जगदुल्ला हाइड्रोपावर, कर्णालीको मुहार फेर्ने

Read Next

पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति पनि रोक्का हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar