Nepal Purbadhar

कुश्मा नगरपालिकाको आगामी वर्षको बजेट करिब ९० करोड


पर्वत। पर्वतको कुश्मा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रु ८९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको छ। आइतबार सम्पन्न १३औँ नगर अधिवेशनमा उपप्रमुख स्वस्थानी रिजालले बजेट प्रस्तुत गरेकी हुन्।

नगरपालिकाले ‘समृद्ध सुन्दर कुश्मा नगर’ निर्माणको दीर्घकालीन लक्ष्यअनुसार पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र सुशासनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ। कुल बजेटमध्ये ५३.२५ प्रतिशत चालु खर्च र ४६.७५ प्रतिशत पुँजीगत खर्चतर्फ छुट्याइएको छ।

बजेट कार्यान्वयनका लागि सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी तथा मौज्दात रकमलाई स्रोतका रूपमा अनुमान गरिएको छ।

भौतिक पूर्वाधारतर्फ निर्माणाधीन नगरपालिकाको प्रशासकीय भवन सम्पन्न गर्न रु दुई करोड विनियोजन गरिएको छ। वडा तहका सडक, खानेपानी तथा सिँचाइ आयोजनाका लागि रु सात करोड ५० लाख बजेट छुट्याइएको छ। वडा नं ९ मा सञ्चालन हुने ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत कटुवाचौपारी–मल्याङ्दीखोला लिफ्ट खानेपानी आयोजनाका लागि रु एक करोड व्यवस्था गरिएको छ।

कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षालाई ध्यानमा राख्दै कृषि यान्त्रीकरण तथा प्लास्टिक टनेल विस्तार कार्यक्रमका लागि रु एक करोड ४५ लाख विनियोजन गरिएको छ। शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न रु १५ लाख, सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन रु १३ लाख ८१ हजार तथा दिवा खाजा कार्यक्रमका लागि रु ७३ लाख एक हजार बजेट छुट्याइएको छ।

पर्यटन प्रवर्द्धनतर्फ गुप्तेश्वर धार्मिक पर्यटन प्रवर्द्धन केन्द्रका लागि रु ९० लाख र लक्ष्मीनारायण मन्दिर (शालग्राम आश्रम) का लागि रु १० लाख विनियोजन गरिएको छ। विपद् व्यवस्थापनका लागि रु ४० लाख र फोहोरमैला व्यवस्थापनका लागि रु ३० लाख बजेट व्यवस्था गरिएको छ। साथै सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र जवाफदेही बनाउन आवश्यक स्रोत सुनिश्चित गरिएको नगरपालिकाले जनाएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले रु ८९ करोड ९७ लाख ४० हजारको बजेट कार्यान्वयन गरिरहेको छ। असार ५ गतेसम्म रु ५५ करोड ८२ लाख ३६ हजार खर्च भई ६१.७४ प्रतिशत वित्तीय प्रगति हासिल भएको नगरपालिकाको तथ्यांक छ।

उपप्रमुख रिजालले प्रस्तुत बजेटले नगरवासीका विकास आकांक्षा सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै पूर्वाधार, उत्पादन, रोजगारी, शिक्षा र सामाजिक विकासमार्फत समृद्ध तथा सुन्दर कुश्मा निर्माणमा योगदान पुग्ने बताइन्।

यसअघि नगरप्रमुख रामचन्द्र जोशीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममा सडक, खानेपानी, सुशासन, पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण तथा पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखिएको छ। संस्थागत सुदृढीकरण, डिजिटल प्रशासन र पूर्वाधार विकासलाई विशेष जोड दिँदै आर्थिक समृद्धिको आधारका रूपमा कृषि र पर्यटन क्षेत्रलाई अघि सारिएको छ।

जिल्लाका सात स्थानीय तहमध्ये कुश्मा नगरपालिका आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्ने पहिलो स्थानीय तह बनेको छ।


Read Previous

जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन, किसानको आकर्षण बढ्दै

Read Next

देशका अधिकांश भूभागमा मनसुन फैलिदै, आज तराईका केही क्षेत्रमा तातो हावाको चेतावनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar