Nepal Purbadhar

वसन्तकालीन हिमाल आरोहण सकियो, १ अर्ब २६ करोड रुपैयाँ बढी राजस्व संकलन


काठमाडौं । सन् २०२६ को वसन्तकालीन हिमाल आरोहण सिजन सकिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका विभिन्न हिमाल आरोहणका लागि यस वर्ष स्वदेशी तथा विदेशी गरी एक हजार १९५ आरोहीले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार ६ हजार ५०० मिटरभन्दा माथिका हिमाल आरोहणका लागि विभागले अनुमति प्रदान गर्दै आएको छ भने सोभन्दा कम उचाइका हिमालका लागि नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले अनुमति दिने व्यवस्था छ।

यस वर्ष अनुमति लिने आरोहीमध्ये सबैभन्दा धेरै चीनका १५९ जना रहेका छन्। त्यसपछि अमेरिकाका १५२, भारतका १०१, जर्मनीका ७५, बेलायतका ७४, रसियाका ७०, नेपालका ४४, क्यानडाका ४१, पोल्यान्डका ३२ र फ्रान्सका २७ आरोही रहेका छन्।

पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार वसन्त सिजनमा ३१ वटा हिमाल आरोहणका लागि अनुमति जारी गरिएको थियो। तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ४९५ जनाले अनुमति लिएका थिए। सगरमाथा आरोहण अनुमति लिनेमा ५६ देशका ३९० पुरुष र १०५ महिला सहभागी थिए।

अनुमति प्राप्त आरोहीका अतिरिक्त शेर्पा गाइड तथा अन्य सहयोगीसमेत गरी एक हजारभन्दा बढी व्यक्तिले यस वर्ष सगरमाथाको सफल आरोहण गरेका छन्।

सगरमाथा आरोहणमा चीनका १०९ आरोहीसहित सबैभन्दा ठूलो सहभागिता देखिएको छ। अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्ट्रेलियाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२ र आयरल्यान्डका ११ आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्।

यस वर्ष सोलुखुम्बुका प्रख्यात पर्वतारोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई थप उचाइ दिएका छन्। उनले जेठ ३ गते चुचुरोमा पुगेर विश्वकै सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको कीर्तिमान पुनः कायम गरेका हुन्।

त्यस्तै, महिला पर्वतारोहीतर्फ सङ्खुवासभाकी लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला समूहमा विश्व कीर्तिमानलाई अझ मजबुत बनाएकी छन्।

आर्थिक रूपमा पनि यस वर्षको आरोहण सिजन नेपालका लागि निकै फलदायी बनेको छ। सगरमाथा आरोहण अनुमतिबाट मात्रै सरकारले १ अर्ब ८ करोड १० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

यस्तै लोत्से हिमालबाट ६ करोड ६८ लाख रुपैयाँ, मकालु प्रथमबाट ३ करोड १७ लाख रुपैयाँ, आमादब्लमबाट १ करोड ६६ लाख रुपैयाँ, कञ्चनजङ्घाबाट १ करोड ६५ लाख रुपैयाँ तथा अन्नपूर्ण प्रथमबाट १ करोड २० लाख रुपैयाँभन्दा बढी राजस्व प्राप्त भएको छ।

समग्रमा वसन्तकालीन हिमाल आरोहणका लागि जारी गरिएका अनुमतिबाट नेपाल सरकारले यस वर्ष १ अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ रुपैयाँ राजस्व संकलन गरेको पर्यटन विभागले जनाएको छ।


Read Previous

पीपीए भएका तर निर्माण शुरू नगरिएका आयोजनाको अनुमति खारेज गर्नु: अध्ययन प्रतिवेदन

Read Next

फ्लाई दुबईलाई पोखरा–दुबई दैनिक उडान अनुमति, सेप्टेम्बर २३ देखि सेवा शुरू हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar