
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको छ। पर्यटकको संख्या बढेसँगै निकुञ्जले पर्यापर्यटनबाट मात्रै २७ करोड ६३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा दुई लाख ७२ हजार ९२३ पर्यटक पुगेका छन्। अघिल्लो आर्थिक वर्षमा यो संख्या दुई लाख ३१ हजार ३२९ रहेको थियो। यससँगै एक वर्षमै पर्यटक आगमन करिब ४१ हजार ६ सय ले वृद्धि भएको देखिएको छ।
गत आर्थिक वर्षमा निकुञ्ज भ्रमण गर्नेमध्ये सार्क राष्ट्रका २२ हजार ८८३ र अन्य मुलुकका ८८ हजार ६६५ विदेशी पर्यटक रहेका छन्। बाँकी पर्यटक नेपाली नागरिक हुन्।
चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, जंगली हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन्। जंगल सफारी, जीप सफारी, डुङ्गा सयर र वन्यजन्तु अवलोकन यहाँका प्रमुख आकर्षण हुन्।
निकुञ्ज प्रशासनका अनुसार गत आर्थिक वर्षमा पर्यापर्यटनबाट २७ करोड ६३ लाख ३९ हजार ९५० रुपैयाँ राजस्व संकलन भएको छ। यस्तै, काठदाउरा, गैरकाष्ठ वन पैदावार बिक्री, जरिवानालगायत अन्य शीर्षकबाट ३१ करोड एक लाख ६४ हजार ५५१ रुपैयाँ राजस्व संकलन भएको जनाएको छ।
पर्यटक आगमनमा भएको वृद्धिले चितवनको पर्यटन व्यवसाय, होटल तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको निकुञ्ज प्रशासनको भनाइ छ।
