Nepal Purbadhar

सामाजिक सद्भाव कायम राख्न इप्पानको अपिल, शान्तिपूर्ण वातावरणमा विकास अघि बढाउन आग्रह


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले पछिल्लो समय मुलुकका विभिन्न स्थानमा देखिएको सामाजिक तनाव तथा अशान्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। इप्पानले सामाजिक सद्भाव, शान्ति र विकासका लागि सबै नेपालीबीच आपसी समझदारी, सहिष्णुता र एकता कायम राख्न अपिल गरेको छ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीद्वारा जारी विज्ञप्तिमा नेपाल विविध भाषा, धर्म, संस्कृति र समुदायबीचको आपसी सम्मान, सहिष्णुता र सहअस्तित्वका कारण विश्वमै परिचित राष्ट्र रहेको उल्लेख गरिएको छ। कुनै पनि प्रकारको असहमति, विवाद वा असन्तुष्टिलाई संवाद, वार्ता तथा संवैधानिक र कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा इप्पानले जोड दिएको छ।

इप्पानले ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा उल्लेख गर्दै जलविद्युत् आयोजना निर्माणका क्रममा निजी क्षेत्रले हिमाल, पहाड र तराईका विभिन्न भूभागमा स्थानीय समुदायसँग सहकार्य गर्दै लगानी, रोजगारी, पूर्वाधार विकास तथा स्थानीय आर्थिक गतिविधि बढाउँदै आएको जनाएको छ।

संस्थाका अनुसार आयोजना सफल हुन शान्ति, सामाजिक सद्भाव, आपसी विश्वास र सुरक्षित लगानी वातावरण आवश्यक हुन्छ। यस्तो वातावरणमा दीर्घकालीन लगानी आकर्षित हुने, आयोजना समयमै सम्पन्न हुने, स्थानीय रोजगारी सिर्जना हुने र राष्ट्रको आर्थिक विकासले गति लिने इप्पानको भनाइ छ।

तर सामाजिक अशान्ति, हिंसा, तोडफोड, बन्द, अवरोध तथा असुरक्षाको वातावरणले आयोजना निर्माणमा प्रत्यक्ष असर पार्नुका साथै लगानीकर्ताको मनोबल कमजोर बनाउने इप्पानले जनाएको छ। यसबाट उत्पादन लागत बढ्ने, आयोजना ढिला हुने तथा स्थानीय समुदाय, उद्योग–व्यवसाय, श्रमिक र समग्र राष्ट्रिय अर्थतन्त्र प्रभावित हुने चेतावनीसमेत दिएको छ।

इप्पानले मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउन निजी तथा सार्वजनिक लगानी विस्तार, रोजगारी सिर्जना, ऊर्जा उत्पादन वृद्धि र औद्योगिक विकास आवश्यक रहेको उल्लेख गरेको छ। त्यसका लागि सरकार, सम्बन्धित निकाय तथा सरोकारवालाले शान्ति, कानुनी शासन र सामाजिक सद्भाव कायम गर्ने वातावरण निर्माणमा थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उसको आग्रह छ।

साथै, सामाजिक, धार्मिक तथा सामुदायिक सद्भाव अभिवृद्धिका लागि नागरिक समाज, निजी क्षेत्र, स्थानीय समुदाय, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायबीच सहकार्य, संवाद र सकारात्मक जनचेतनामूलक गतिविधि सञ्चालन गर्न इप्पानले आह्वान गरेको छ।

“शान्तिपूर्ण, सुरक्षित र सद्भावपूर्ण वातावरण नै ऊर्जा विकास, लगानी प्रवर्द्धन, दिगो आर्थिक समृद्धि तथा समुन्नत नेपालको आधार हो,” इप्पानले भनेको छ। सबै नेपालीले आपसी सम्मान, सहिष्णुता र एकताको भावना थप मजबुत बनाउँदै राष्ट्र निर्माणको अभियानमा हातेमालो गर्नुपर्ने संस्थाको अपिल छ।


Read Previous

बजारमा ग्यासको अभाव, लाइनमा उपभोक्ता (तस्बिर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar